शनिबार, २ मंसिर २०७४
DainikNepal.com
शनिबार, २ मंसिर २०७४

राजनीतिले विभाजित युवा

दिपक महत २०७४ असार २८ गते १७:२०

– दिपक महत

लामो समयको प्रतिक्षापछि जनताले स्थानिय निकायमा आफ्ना जनप्रतिनिधी पाएका छन् । प्रदेश नम्बर २ को चुनावपछि यसले पूर्णाकार लिनेछ । देश चुनावी माहोलमा होमिरहेकै बेला युवाको रापिलो उपस्थिति प्रत्यक्ष रुपमा देखियो । बैशाख ३१ र असार १४ मा सम्पन्न भएका यि चुनावमा युवाहरु राजनीतिक रुपमा गाँउदेखि शहरसम्मै बाँडिए । यसरी बाँडिएका युवाले कस्ता विषयवस्तु उठानको हिस्सा बनाए तपाई हामी सबैले भोग्यौं त्यहि अनुसार अनुमान र विश्लेषण पनि गरिरहेका छौ । देशका हरेक परिर्वतनमा युवाको भूमिका कसैले पनि कम आँकेका छैनन् । नेपालमा भएका परिवर्तनका प्रत्येक श्रृङ्खलामा युवा सहभागिता उल्लेख्य रहेको हामीबाट छिपेको छैन ।

हालै सम्पन्न भएको चुनावपछी युवाहरु आरोप, प्रत्यारोप, समर्थन तथा विरोधमा सतहमै उत्रिए । जसको प्रत्यक्ष प्रभाव स्वरुप आजसम्म सामाजिक संञ्जालका भित्ताहरु आलोचना र प्रतिक्रियाले पोतिएका छन् । राजनीतिक प्रभावका अनेक पक्ष, क्षेत्र र आयाम छन् । राजनीतिमा युवा विभाजित हुदाँ समाज र सामाजिक परिवेश कसरी घुमिरहेको छ, चर्चा गरौं ।

“सामाजिक सञ्जालमा देखिएका राजनीतिक रापले समाज धुव्रिकरण तर्फ अग्रसर भएको अनुमान गर्न सकिन्छ । सकारात्मक चेत बोकेर हिड्नु पर्ने युवा कुनै दल विशेषको मात्रै वकालतमा उत्रिदाँ सामाजिक हित अनुकुलको मर्ममा प्रहार भएको छ । परिवर्तनका सवांहक मानिएका युवाबाट तल्लो स्तरको आलोचना पोखिनु सुहाउनै नसक्ने विषय हो ।”

समाजको निमार्ण एकै खालको संरचनाबाट सम्भव छ्रैन । फरक–फरक मानिसको समायोजित रुप हो समाज । यसमा व्यक्ति, परिवार र तीनले अगाँल्ने संस्कृति तथा रहनसहनको बनोटले धेरै महत्व राख्छ । एकै किसिमको समाजले विकासी वेगमा असन्तुलन निम्त्याउन सक्छ त्यसैले फरक राजनीतिक परिवेशको रुपमा स्थापित समाजको आफ्नै स्थान छ । समाज निमार्णका पात्र युवा अहिले देशले खोजेको आवश्यकताबाट टाढा पुगिरहेका छन् । बरु आरोप प्रत्यारोपको चंगुलमा नराम्ररी अल्झिएका छन् ।

सामाजिक सञ्जालमा देखिएका राजनीतिक रापले समाज धुव्रिकरण तर्फ अग्रसर भएको अनुमान गर्न सकिन्छ । यसले मिलेर बसेको ब्यक्ति, परिवार र समाज विखण्डित त बन्ने होइन भन्ने चिन्ता थपिदिएको छ । सकारात्मक चेत बोकेर हिड्नु पर्ने युवा कुनै दल विशेषको मात्रै वकालतमा उत्रिदाँ सामाजिक हित अनुकुलको मर्ममा प्रहार भएको छ । परिवर्तनका सवांहक मानिएका युवाबाट तल्लो स्तरको आलोचना पोखिनु सुहाउनै नसक्ने विषय हो । राजनीतिक बहस सामाजिक विकासमा केन्द्रित बन्न सकेका छैनन यि व्यक्ति विशेषमा गएर जोडिएका छन् । व्यक्ति–व्यक्तिबिच रिसबी साँधेर सामाजिक, सांस्कृतिक रुपमा लामो समयदेखि चलिआएका मुल्य मान्यता समेत लोप हुने खतरामा पुग्न लागेको डरलाग्दो चित्र सबैका सामु नाँचिरहेको छ । नेपाली समाज तथा विशेषगरी गाँउघर बढि यसबाट सशंकित छन् । किनकी हाम्रो जस्तो मुलुकमा विकासले विश्व छलाङको लहरो समात्न केहि ढिलो गरिरहेको सन्दर्भमा सहरभन्दा गाँउ यसबाट बढि प्रभावित हुनसक्छ ।

“नेपालको विशिष्ट सामाजिक परिवेश अन्य मुलुकको तुलनामा फरक छ । राजनीतिक कारणले नकारात्मक सामाजिक द्धन्द्धको अवस्था सिर्जना हुनसक्छ भन्ने कुरा युवाले बुझ्न ढिलो गर्नुहुदैन । यसले समाजमा विभाजनको रेखा कोर्न सक्छ । समाजमा द्धन्द्ध र विवाद बढ्ने गरी राजनीति रुपमा परिचालित हुनु दिर्घकालिन समृद्ध नेपालको पक्षमा हुन सक्दैन ।”

राजनीतिमा तटस्थता सम्भव छैन । मानिसले अँगाल्ने वैचारिक भावले राजनीतिक आस्थाको निरक्यौल गर्छ । धेरै हदसम्म मानिस त्यसैको आधारमा निर्देशित हुन्छ । जुनसुकै विचार वा आस्थामा जोडिनेहरु भएपनि यसको सहि व्यवस्थापन भने गर्नेपर्छ । राजनीति समाजलाई जोड्ने अस्त्रका रुपमा हुनुपर्छ भन्ने मान्यता विश्वव्यापी छ । असल राजनीतिक संस्कारको गतिलो उदाहरणमा नेपालका युवा चुक्नु हुदैन । कल्याणकारी सेवा, सामाजिक न्याय, न्यायोचित वितरण, विकास, भातृत्व तथा पूर्वाधारका हरेक सवाल अहिलेका युवा पक्षीय विषय हुन् । यसले बोकेका भावहरुलाई समाज निमार्णको बलियो खम्बाको रुपमा लिन सकिन्छ ।

हरेक युवामा समाजलाई हेर्ने दृष्टिकोण सारमा एकै बन्नुपर्छ । नेपालको विशिष्ट सामाजिक परिवेश अन्य मुलुकको तुलनामा फरक छ । राजनीतिक कारणले नकारात्मक सामाजिक द्धन्द्धको अवस्था सिर्जना हुनसक्छ भन्ने कुरा युवाले बुझ्न ढिलो गर्नुहुदैन । यसले समाजमा विभाजनको रेखा कोर्न सक्छ । दिगो शान्तिको अनिवार्य सर्त भनेको द्धन्द्धको न्युनिकरण हो । समाजमा द्धन्द्ध र विवाद बढ्ने गरी राजनीति रुपमा परिचालित हुनु दिर्घकालिन समृद्ध नेपालको पक्षमा हुन सक्दैन । सामाजिक संरक्षणको पहलकदमी युवाले लिनैपर्छ । सामाजिक एकता, सहिष्णुता र आफ्नोपनलाई उच्च बिन्दुमा राख्न हरेक नेपाली सरह युवाको भूमिका कम रहनुहुदैन । अन्यथा मानव विकासकै चुनौतिका रुपमा यो हामीमाझ आइपुग्छ । मानवीय सम्मान, मूल्य र सम्बन्धमा सबै ब्यक्ति जस्तै युवाहरु बढी सचेत हुनुपर्छ ।

सार्वजनिक हित र भलाइमा युवाको बलियो उपस्थिति आवश्यक छ । समाजमा घट्ने विविध घटनामा युवा न्यायपूर्ण रुपमा देखिन सकेका छैनन् । असल खराब छुट्याएर विवेकको परिचय दिनुपर्नेमा राजनीतिक आस्था अनुसारको विश्लेषण तर्फ जोडिरहेका छन् । समानतामा आधारित सम्बन्ध सामाजिक न्याय हो । सामाजिक न्याय युवाले बोक्नुपर्ने भारी हो तर युवाहरु न्यायको पक्षमा स्वच्छ हुन नसकेको भान प्रतित हुन्छ । देशको नेतृत्व लिने युवा रुपान्तरणका मेरुदण्ड हुन् । असल परम्परा तथा संस्कारको थालनी यिनैका नव रुपान्तरित चेतले भयो भने यसको महत्व र प्रभावकारिता बढेर जान्छ । सामाजिक परिवेश दुषित बन्छ कि भनेर सोच्न कसैले दिमागी चेत घुमाउन आवश्यक नै पर्देन ।

देशको परिस्थितिले गर्दा युवालाई निराशाको सिमासम्म पु-याइरहेको तर्क केहीले गर्ने गरेका छन् । तर देशले सकारात्मक दिशातिर बाटो सोझाइरहेको छ । त्यसैले धेरै निराश बन्नुपर्ने कारण छैन । अहिले विश्वसँग हरेक क्षेत्रमा प्रतिस्पर्धा गर्ने ल्याकत हामीसँग छ । युवाहरु विश्व बजारमा पुगेका छन्, त्यसैले नेपालमा पनि यसका सकारात्मक आयाम थपिदाँ छन् । यसबारे घोत्लिने हो भने धेरै दुविधाहरु मानिसबाट टाढा पुग्छन् । यि सन्दर्भले वर्तमान परिवेश/कालका धेरै पाटोमा सजिलै उत्तरको गाँठो फुकाउन्छ ।

सबै गाउँ–ठाउँका युवाहरुलाई एउटै काँटामा राखेर यहाँ दोषि कुनै पनि मानेमा देखाउन खोजिएको होइन । देशका धेरै ठाँउमा युवाको सक्रियतामा धेरै उदाहरणिय कार्यहरु पनि तिव्र गतिमा चलिरहेका छन् । यो सन्तोक मान्नुपर्ने विषय हो । आशा गरौं, सबैतिर यसैको बहाव चल्नेछ । असल राष्ट्र र राज्य निमार्णमा सकारात्मक भूमिका सबैतिरबाट देखिनेछ । युवाकै पहलमा देश समृद्धितर्फ लम्किनेछ ।

प्रतिक्रिया
सम्बन्धित