शुक्रबार, ६ असोज २०७४
DainikNepal.com
शुक्रबार, ६ असोज २०७४

कांग्रेस नेताको निष्कर्षः नाकाबन्दी पराजित गरी चीनसँग बाटो खोलेकाले एमालेले जित्यो

दैनिक नेपाल २०७४ असार २८ गते १७:०१

काठमाडौं, २८ असार । स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचनमा नेकपा एमाले पहिलो दल बनेपछि सत्तारुढ नेपाली कांग्रेसमा रामचन्द्र पौडेल समूह र केही युवा नेता हारको समिक्षामा जुटेका छन् ।

पौडेल समूहले मंगलबारबाट समिक्षा र दबाब अभियानै सञ्चालन गरेको छ । तर, नेतृत्व अर्थात सभापति शेरबहादुर देउवाले यसमा कुनै चासो दिएका छैनन् । उनी मन्त्रिमण्डल विस्तार र संविधान संशोधनको झमेलामा व्यस्त छन् ।

यस्तो बेला कांग्रेसमा बौद्धिक नेताको छवि बनाएका युवा नेता मनमोहन भट्टराईले कांग्रेस आफ्नै कारणले हारेको भन्दै यथार्थपरक विश्लेषण गरेका छन् । कान्तिपुर टेलिभिजको साप्ताहिक कार्यक्रम ‘फायर साइड’मा पत्रकार भुषण दाहालसँग कुरा गर्दै नेता भट्टराईले भारतीय नाकाबन्दीलाई पराजित गरी कहालीलाग्दो अवस्थामा केरुङ हुँदै चीनसँगको बाटो खोलेका कारण एमालेले धेरै भोट ल्याएको बताए ।

उनले भने– ‘मान्नैपर्छ भारतीय नाकाबन्दीलाई पराजित गर्नु र केरुङतिरबाट चिनियाँ बाटो खोलेर नेपालीलाई भविश्य देखाउने काम एमालेको सरकार र केपी ओलीजीले गर्नु भयो । यो चुनावमा एमालेले धेरै भोट ल्याउनुको मुख्य कारण त्यही हो ।’

जनता पहाड र तराई छुट्याउने पक्षमा नभएका बेला कांग्रेसले छुट्याउन खोजेको र एमालेले छुट्याउन नदिन चट्टानी अडान लिएकाले चुनावमा यसको असर परेको उनको तर्क छ । ‘एमालेले धेरै भोट ल्याउनुको दोस्रो कारण यो हो,’ उनले भने ।

उनले केपी ओलीको राष्ट्रवादलाई विपी र महेन्द्रसँग तुलना गर्नसमेत भ्याए । ‘बीपी, महेन्द्र र अहिले केपी ओलीजीले प्रोमोट गरेको राष्ट्रवाद धेरै हदसम्म मिल्छ । चाहे पहाडमा बसोस् चाहे तराईमा देशभक्तिले नागरिकलाई छुन्छ, यसमा भूराजनीति जोडिरहनु पर्दैन,’ नेता भट्टराईको भनाई छ ।

एमालेविना संविधान संशोधन सम्भव नभएको भन्दै नेता भट्टराईले अगाडि भने– ‘संविधान संशोधन हुने कुरै थिएन, भएन । कांग्रेस–माओवादीको गठबन्धन सरकारमा बस्ने म्युजिकल चेयर जस्तो मात्रै भयो । यसले केही राजनीतिक लाभ कांग्रेसलाई भएन ।’

हेर्नुस् पूरा भिडियोः

प्रतिक्रिया
सम्बन्धित