सोमबार, १५ जेठ २०७४
DainikNepal.com
सोमबार, १५ जेठ २०७४

बालुवाटारमा ७ दलको बैठकः एमालेले अस्वीकार गर्यो सबै प्रस्ताव, नसच्चिए चुप लागेर नबस्ने चेतावनी

दैनिक नेपाल २०७४ जेठ ५ गते २०:१३

– विमल योगी

काठमाडौं, ५ जेठ । प्रधानमन्त्रीले बोलाएको प्रमुख ७ दलको बैठक विनानिष्कर्ष टुंगिएको छ ।

शुक्रबार साँझ सरकारी निवास बालुवाटारमा बसेको कांग्रेस, एमाले, माओवादी, राजपा नेपाल, फोरम लोकतान्त्रिक, राप्रपा र संघीय समाजवादीका शीर्ष नेताहरुको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले संविधान संशोधन, सीमांकन लगायत विषयमा सत्तारुढ दलले राखेको सबै प्रस्ताव अस्वीकार गरेपछि निष्कर्षविहिन बनेको हो ।

नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले संविधान संशोधन र सीमाकंनबारे छलफल भएको र एमाले नेताहरु आफ्नो अडानमा यथावत रहेपछि बैठक निष्कर्षविहिन भएको बताए । ‘प्रधानमन्त्रीले बैठकमा संविधान संशोधनमा सबैले सहयोग गर्नुस् र सीमाकंन फेरबदल गरौं भन्ने प्रस्ताव राख्नुभयो,’ उनले भने– ‘तर, एमालेका साथीहरुले आफ्नो अडान यथावत राख्नुभयो । बैठक उपलब्धीमुलक भएन् ।’

कांग्रेस नेता एवं गृहमन्त्री विमलेन्द्र निधिले आजको बैठकमा तीन विषयमा छलफल भएपनि कुरा मिल्न नसकेको बताए । ‘सत्तापक्षका तर्फबाट संविधान संशोधन सहयमोग गर्नुस् भनेर हामीले उहाँहरुलाई आग्रह गर्यौं,’ उनले भने– ‘तर, संशोधनविरुद्ध हाम्रो पुरानै अडान छ, अहिलेको विधेयकमा हामीले समर्थन गर्न सक्ने अवस्था छैन् भनेर उहाँहरुले भन्नुभयो ।’

उनका अनुसार एमाले नेताहरुले टीकापुर घटनाका मुद्दा फिर्ता लिने निर्णय सच्याउन माग गरेको र यसमा पनि कुरा मिल्न सकेन् । त्यस्तै, स्थानीय तहको संख्या बढाउने कुरामा एमालेले आचारसंहिताले नमिल्ने तर्क गरेपछि कुनै पनि कुरामा सहमति भएन् । ‘समग्रमा एमालेले हामीले भनेको कुनै प्रस्ताव मानेनन्,’ निधिले भने ।

निर्णय नसच्चिए चुप लागेर नबस्ने चेतावनी

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै एमाले उपाध्यक्ष भीम रावलले संविधान संशोधनदेखि, सीमाकंन हेरेफेर, स्थानीय तहको संख्या बढाउने विषयमा सत्ता पक्षबाट प्रस्तावहरु बैठकमा आएको बताउँदै भने– ‘हाम्ले समर्थन गर्ने कुरा भएन् । अस्वीकार गर्यौं ।’

नेता रावलका अनुसार बैठकमा टीकापुर घटनाका दोषीलाई उन्मुक्ति दिने र मुद्दा फिर्ता लिने निर्णय मान्न नसकिने चेतावनी दिँदै एमाले नेताहरुले निर्णय तत्काल फिर्ता लिन आग्रह गरेका थिए । ‘टिकापुर घटनामा मन्त्रिपरिषदबाट भएको पछिल्लो निर्णयमा हामीले प्रधानमन्त्रीको ध्यानाकर्षण गरायौं,’ उनले भने– ‘निर्णय नसच्चिए हामी चुप लागेर बस्दैनौं ।’

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा, उपप्रधान एवं गृहमन्त्री बिमलेन्द्र निधि, उपप्रधान एवं स्थानीय विकास मन्त्री बिजयकुमार गच्छदार, एमाले उपाध्यक्षद्वव सुवास नेम्वाङ, भीम रावल, कांग्रेस नेता रामचन्द्र पौडेल, माओवादी नेता नारायणकाजी श्रेष्ठ, राप्रपा नेताहरु बिक्रम पाण्डे, सुनिलबहादुर थापा, राजपाका नेताहरु महन्त ठाकुर, राजेन्द्र महतो, अनिलकुमार झा, संघीय समाजवादी फोरमका नेता अशोक कुमार राई लगायत शीर्ष नेताहरु सहभागी थिए ।

प्रतिक्रिया
सम्बन्धित