शनिबार, २ मंसिर २०७४
DainikNepal.com
शनिबार, २ मंसिर २०७४

‘एमालेले भरतपुरको मेयरसँग प्रधानमन्त्रीको कुर्सी साट्न लागेको हो ?’

सामाजिक सञ्जालमा अफबाह फैलिएपछि एमाले नेताहरुले गरे खण्डन

दैनिक नेपाल २०७४ जेठ ५ गते १५:४६

काठमाडौँ, ५ जेठ । भरतपुर महानगरपालिकामा मतगणना जारी रहँदा अनेकखाले हल्ला र चर्चाहरु फैलिएका छन् । खासगरि, भरतपुरमा माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालकी पुत्री रेणु दाहाललाई जिताउन एमालेका उच्चस्तरीय नेताहरुसँग राजनीतिक समझदारी भएको चर्चा पनि सामाजिक सञ्जालमा छ ।

एमाले उपाध्यक्ष बामदेव गौतमलाई प्रधानमन्त्री बनाउने गरी एमालेले भरतपुरको मेयरसँग प्रधानमन्त्रीको कुर्सी साट्न तया भएको चर्चालाई एमाले नेताहरुले खण्डन गरेका छन् ।

नेकपा एमालेका स्थायी समिति सदस्य समेत रहेका चितवनबासी नेता सुरेन्द्र पाण्डेले अनावश्यक हल्लाको पछि नलाग्न आग्रह गरेका छन् ।

बिहीबार राति ७ नम्बर वडाको गीतानगरमा दाहालले अनुमानभन्दा बढी मत पाएका कारण यस्तो चर्चा चलेको हुनसक्ने एमाले नेता पाण्डेको टिप्पणी छ । गीतानगर क्षेत्र कांग्रेसले मेयर उठाएर उमेद्वारी फिर्ता गराएका दिनेश कोइरालाको घर भएका हिसाबले पनि रेणु दाहालले बढी मत पाएको हुनसक्ने एमाले नेताहरुको अनुमान छ ।

सामाजिक सञ्जालमा एमालेविरुद्ध अनेक अफवाह फैलिरहँदा नेकपा एमालेका युवा नेता हिक्मत कार्कीले कडा शब्दमा खण्डन गरेका छन् ।

कार्की भन्छन् – ‘भरतपुर महानगरपालिकाको मेयर पदसँग कुनै शर्त र बार्गेनिंग भएको छैन । एमाले कार्यकर्ताले यति निम्छरो तर्क र नेतृत्वप्रति अनाबश्यक शंका, उपसंका गर्नु आबश्यक छैन ।’

एमाले केन्द्रीय सदस्य कार्कीले भरतपुरको मेयरमा एमालेका उम्मेदवार ज्ञवालीले जित्नेमा आफूहरु ढुक्क रहेको बताएका छन् । ‘एमाले नेता र कार्यकर्ता भिडने भिडाउने दुस्प्रयास नगरे हुन्छ ।’ उनको सुझाव छ ।

प्रतिक्रिया
सम्बन्धित