सोमबार, १५ जेठ २०७४
DainikNepal.com
सोमबार, १५ जेठ २०७४

प्रधानमन्त्रीज्यू, लौ सुन्नुस मेरो बिलौना !

देवी सुनार २०७४ जेठ ५ गते ११:०७

– देवी सुनार

सर्वप्रथम, मेरी छोरीलाई न्याय दिलाउनका लागि १३ बर्षे संघर्षपूर्ण र पीडादायी न्यायीक लडाईमा साथ दिनु भएकोमा सबैलाई धन्यवाद दिन चाहन्छु । मलाई पुनः यहाँहरुको साथ र सहयोगको आवश्यकता परेको छ । यो घटना एक दशक भन्दा पुरानो भइसकेकोले मेरी छोरीलाई के भएको थियो भन्ने बारे पुनः स्मरण गराउँदै मलाई यहाँहरुको साथ र सहयोगको खाँचो पर्नुको कारण उल्लेख गर्न चाहन्छु ।

उनलाई बिरेन्द्र शान्ति कार्य तालिम केन्द्रवाट खटिइ आएका नेपाली सेनाका अधिकृत निरञ्जन बस्नेतको नेतृत्वमा रहेको नेपाली सेनालेपक्राउ गरेको थियो । निज बस्नेतको टोलीले मेरी छोरीलाई १७ फेब्रुअरी २००४ मा पक्राउ गरी बिरेन्द्र शान्ति कार्य तालिम केन्द्र, पाँचखालमा लगेका हुन्। म र मेरो श्रीमान्लगायत अन्य मेरी छोरीलाई भेट्न त्यहाँ गएका थियौं तर उनीहरुले मेरी छोरी पक्राउ नगरेको र त्यहाँ नराखिएको जवाफ दिए । सेनाले उनको पक्राउ र थुनाबारे केहि जानकारी नभएको बताए । अन्य सरकारी निकायहरुले पनि उनलाई पक्राउ गरेको अस्विकार गरे। मेरी १५ बर्षिय छोरीलाई त्यतिकै वेपत्ता बनाइयो ।

उनलाई वेपत्ता बनाइ कुन ठाउँमा के कस्तो अवस्थामा राखिएको छ भन्ने जान्न नपाउँदा मैले भोगेका पीडा र चिन्ता व्यक्त गर्न मसँग शब्दह छैनन । प्रत्येक पल मेरा लागि पीडादायी थिए । तर उनलाई भेटेर भन्नेमेरो ईच्छाले मलाई बाँच्न र उनको निरन्तर खोजी गर्न प्रोत्साहित ग¥यो। म एड्भोकेसी फोरम जस्ता राष्ट्रिय संघसंस्थाहरु लगायत त्यहाँका साहसी वकिलहरु लगायत मलाई यस्तो कठिन न्यायीक लडाईमा निरन्तर साथ दिनु हुने यहाँहरु सम्पूर्णमा हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छु। यस न्यायीक लडाईका दौरान म विस्थापित हुनु प¥यो, लुकेर हिड्नु प¥यो तर मैले यहाँहरुको निरन्तर साथ र सहयोग पाइरहें । तपाईहरुको साथ र सहयोगले सेना माथि दवाव दिन सफल भयौं, फलतः सेनाले मेरी छोरीलाई पक्राउ गरेको स्विकार गर्न बाध्य भयो । तर उनीहरुले मेरी छोरीलाई पक्राउ गरी सैनिक ब्यारेकमा ल्याउँदा बाटोमा भाग्ने काशिस गर्दा सेनाको गोलीवाट मृत्यु भएको भनेर हामी सबैलाई ढाँटे ।

मैले मेरी छोरीलाई जिउँदै भेट्न ेसपना चकनाचुर भयो । नेपाली सेनाले एउटी नाबालिकलाई मारेर उनकी आमालाई तिम्री छोरी भाग्न खोज्दा मारिइ भन्छ भनेर कहिले पनि सोंचेकी थिइन । म सत्य जान्न चाहन्थे, पूर्ण सत्य । तर सेनाले आन्तरिक जाँचबुझ हुने जानकारी दियो । म सैनिक जाँचबुझको परिणामलाई उत्सुकता पूर्वक कुरेर बसेकी थिएँ । सेनाले मेरी छोरीलाई पक्राउ पश्चात सैनिक ब्यारेकमा लैजाँदा मारेको नभई सैनिक ब्यारेक भित्र मृत फेला परेको स्विकार ग¥यो । तीन जना सैनिक अधिकृत उनको मृत्यु भई सकेपछि सदगद गर्दा अपनाउनु पर्ने उचित कानूनी प्रक्रिया पुरा नगरेको भनी सैनिक अदालतले २०६२ भदौ २३ मा दोषी ठहर गरी ६ महिना कैद तथा एक देखि दुई बर्षसम्म बढुवा रोक्ने निर्णय गरेको थियो ।

सेनाले फेरी पनि म र यहाँहरुलाई पनि ढाँट्यो। पछि उनीहरुको आन्तरिक जाँचबुझको प्रतिवेदन सञ्चार माध्यममा आए पछि मेरी नाबालिक छोरीलाई कसरी यातना दिएर हत्या गरिएको थियो भन्ने दर्दनाक तथ्यहरु प्राप्त भयो । ब्यारेकमा ल्याए पछि कर्णेल बबि खत्रीले उनलाई यातना दिन आदेश दिएका थिए । निजको आदेशमा मेरी छोरीलाई सास रोकिने गरी पानीमा टाउको डुबाउने, चिसो पानीमा डुबाउँदै चिसो शरिरमा बिजुलीको झड्का लगाउदै यातना दिइएको रहेछ । यातनाका कारण मेरी छोरीको मृत्यु भइसकेपछि मृत शरिरको पिठयुँमा गोली हानिएको रहेछ सेनाको आन्तरिक प्रतिवेदनमा सैनिक अधिकृतहरु सुनिल प्रसाद अधिकारी, अमित पुन, निरञ्जन बस्नेत लगायत ७ जना सैनिक अधिकृतहरु उक्त घटनामा साक्षी र सहभागी थिए भनी उल्लेख छ ।

उक्त घटनामा संलग्न यी चार जना अभियुक्तहरु सहित अन्य कोही भए उनीहरु समेतलाई कारबाही गर्न जाहेरी दिएँ । फौजदारी अनुसन्धान गर्न गरिएको मेरो निवेदनलाई वेवास्ता गरिए पनि एड्भोकेसी फोरम लगायत अन्य संघसंस्था र सहयोगीहरुको साथले कानूनी लडाई लडियो । सर्वोच्च अदालतको आदेश पछि मात्र जिल्ला सरकारी वकिल कार्यालयले चार जना अभियुक्तहरुविरुद्ध कर्तव्य ज्यान मुद्दा दायर गर्यो।

एक दशक भन्दा लामो पीडादायी कानूनी प्रक्रिया पछि १६ अप्रिल २०१७ मा ३ जना तत्कालिन सैनिक अधिकृतहरुलाई दोषी ठहर गरियो । सरकारी वकिलले मैनाको हत्यामा संलग्न भनी सैनिक अधिकृतहरु बबि खत्री, सुनिल प्रसाद अधिकारी, अमित पुन र निरञ्जन बस्नेत गरी ४ जना विरुद्ध ज्यान मुद्दा चलाएको थियो तर निरञ्जन बस्नेतलाई भने मेरी छोरीको यातना तथा हत्यामा प्रत्यक्ष संलग्नता नदेखिएको भनी सफाई दियो ।

अदालतले यस मुद्दाको तत्थलाई जसरी विश्लेषण गरेको छ त्यसमा मेरो चित्त बुझेको छैन । मेरी छोरीलाई पक्राउ गर्न र सैनिक व्यारेकमा ल्याउन प्रत्यक्षरुपमा क्याप्टेन बस्नेत नै संलग्न थिए । तत्कालिन अवस्थामा आतंककारी तथा विध्वंसात्मक कार्य नियन्त्रण ऐन लागू भएको अवस्थामा पनि सेनालाई कुनैग्रैह्र सैनिक नागरिकलाई पक्राउ गरी थुनामा राख्ने अधिकार दिएको थिएन । त्यसका साथै यातनाका शुरुवातमा उनी त्यहाँ उपस्थित थिए भनि साक्षीहरुले र निज स्वयं समेतले समेत जनरल सैनिक अदालतमा बयान गर्दा स्विकार गरेका थिए । हाल निज बस्नेत मात्रै सेनामा कार्यरत रहेको हुँदा निजलाई संरक्षण दिइएको शंका लागेको छ । म यो मुद्दालाई अपिल गरी तार्किक निस्कर्षमा पु¥याउन चाहन्छु ।

दूर्भाव्यवश, राजनीतिक दबावका कारण जिल्ला न्यायाधिवक्ताले मुद्दा नचलाउने निर्णय गरी हतार हतारमा उच्च सरकारी वकिलको कार्यालयको निर्णयका लागि पठाउनु र उक्त कार्यालयले अन्तिम निर्णयका लागि महान्यायाधिवक्ताको कार्यालयमा पठाउनुले मलाई मर्माहत बनाएको छ । मैले अदालतको निर्णय पाउनका लागि १३ बर्ष कुर्नु प¥यो र ३ जना अधिकृतहरुलाई थुनामा पठाउने अदालतको निर्णय कार्यान्वयन भएको छैन भने उनीहरुलाई पक्राउ गरिने कुनै छाँटकाँट देखिदैन तर बर्तमान संयन्त्रले न्याय निरुपणमा भाँजो हाल्न र पीडकलाई जोगाउन रातारात काम गरेको देखिन्छ । निरञ्जन बस्नेतको विरुद्धमा मेरो अपिल रोक्नका लागि हतार हतारमा काम गरिएको प्रष्ट देखिन्छ ।

त्यसकारण, यस मुद्दालाई अपिल गरी तार्किक निष्कर्षमा पु¥याउन पाउने मेरो अधिकार रक्षाका लागि पहल गरिदिनु हुन यहाँहरु समक्ष अनुरोध गर्दछु । मेरी छोरीको हत्याराहरुलाई सजाय दिलाए पछि मात्र अन्तिम संस्कार गर्ने बाचा अनुसार मैले हालसम्म मेरी छोरीको अन्तिम संस्कार गर्न पाएकी छैन ।

महान्यायाधिवक्ता स्वयंले पीडितको न्यायको लागि लड्नुको सट्टा पीडकलाई बचाउनका लागि सम्पूर्ण संयन्त्र र शक्तिको दुरुपयोग गर्छ भने मेरा अन्य छोराछोरीहरु सुरक्षित छन्, तपाईहरुका बालवच्चाहरु सुरक्षित छन् भन्नेमा विश्वस्त हुन सकेकी छैन । मैले भोगेको पीडा अन्य आमाहरुले भोग्न नपरोस भन्ने चाहन्छु । त्यसैले महान्यायाधिवक्तालाई किन पीडकहरुलाई पक्राउ गरी सजाय गराउन तर्फ नलागेर कानूनी प्रक्रियालाई अबरुद्ध गर्न र अदालतको आदेश उपर चित्त नबुझेमा अपिल गर्न पाउने मेरो अधिकारलाई कुण्ठित गर्ने तर्फ लाग्नु भयो भनी प्रश्न गरिदिनु हुन अनुरोध गर्दछु। मैले मेरो निवेदन दर्ता गराई सकेकी छु तर मलाई थाहा छ, सबैको सरोकार बिना मेरो निवेदनको सुनुवाई हुने छैन ।

देवी सुनुवार

प्रतिक्रिया
सम्बन्धित