सोमबार, १५ जेठ २०७४
DainikNepal.com
सोमबार, १५ जेठ २०७४

औषधि २२ सय प्रतिशत महँगो

दैनिक नेपाल २०७४ जेठ ५ गते ७:११

काठमाडौं, ५ जेठ ।  बजारमा पाइने औषधिमा उपभोक्ताले २२ सय प्रतिशतसम्म महँगो तिर्नुपरेको खुलासा भएको छ । उद्योग, उत्पादक, वितरकसँग विभिन्न माध्यमबाट स्वास्थ्य मन्त्रालयले गरेको एक अध्ययनमा उपभोक्ताले औषधिको वास्तविक मूल्यभन्दा ४ सयदेखि २२ सय प्रतिशतसम्म बढी रकम तिर्नुपरेको पाइएको हो । केही औषधिमा भने पाँच हजार प्रतिशतसम्म बढी रकम असुल गरेको पनि भेटिएको छ । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

बजार मूल्यबारे स्वदेशी तथा विदेशी उद्योग, आयातकर्ता, उत्पादक र विदेशस्थित औषधि खरिद गर्ने सरकारी निकायसँग विभिन्न माध्यममार्फत मूल्य सूची लिएर मन्त्रालयले अध्ययन रिपोर्ट तयार पारेको हो । उक्त अध्ययन स्वास्थ्य मन्त्रालयको औषधि व्यवस्थापन हेर्ने निकायले भारतका विभिन्न प्रान्तमा गई उद्योग, आयातकर्ता र त्यहाँको सरकारसँग लिएको हो ।

‘नेपालमै औषधिको कारोबार गरिरहेका आयातकर्ताहरूसँग मन्त्रालयको टोलीले अनौपचारिक रूपमा लिइएको सूचना पनि यो अध्ययनमा समावेश छ,’ स्वास्थ्यमन्त्री गगन थापाले भने, ‘भन्सारबाट पनि मूल्य पत्ता लगाउने प्रयास गरियो । तर नआएपछि अनौपचारिक र सम्बन्धित उद्योगबाट सूचना लिएर अध्ययन पूरा गरिएको हो ।’ अध्ययनअनुसार न्यूनतम एक सय रुपैयाँ पर्ने औषधिलाई ४ सयदेखि २२ सय रुपैयाँसम्म असुल गर्ने गरिएको छ ।

अध्ययनको निष्कर्षपछि औषधिको मूल्य घटाउने उपाय खोजी सुरु गरिएको छ । ‘स्वास्थ्य उपचारमा भइरहेको सबैभन्दा ठूलो खर्च औषधिमा जान्छ । औषधि सस्तो हुनासाथ एउटा नागरिकको खर्च निकै कम हुन्छ । औषधि कसरी सस्तो बनाउन सकिन्छ भनेर लामो समयको छलफल र अध्ययन गर्‍यौं,’ उनले भने, ‘सरकारी नीतिअनुसार अस्पतालमा स्थापित फार्मेसी पसलमा उत्पादकबाट सीधै औषधि खरिद गर्न सकियो भने त्यही गुणस्तरमा अहिलेको भन्दा निकै सस्तोमा पाइने निष्कर्ष निकाल्यौं ।’

निष्कर्षपछि मन्त्रिपरिषद् बैठकमा औषधिको मूल्यसहित उपभोक्तामा परेको भारको विवरण पेस भएको छ । मन्त्रिपरिषद्ले सार्वजनिक खरिद व्यवस्थापन कार्यालयका सचिवको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गरिसकेको छ । यो समितिमा अर्थ, वाणिज्य तथा आपूर्ति, उद्योग, स्वास्थ्यलगायत मन्त्रालयका उच्च अधिकारी रहनेछन् । ‘यो समितिले गरेको अध्ययन र त्यसको निष्कर्षका आधारमा सरकारले औषधि खरिद प्रक्रिया अघि बढ्नेछ,’ मन्त्री थापाले भने, ‘श्रीलंका, भारतलगायत अरू देशले पनि सोझै औषधि खरिद गर्ने गरेका छन् ।’

प्रतिक्रिया
सम्बन्धित