शुक्रबार, १३ साउन २०७४
DainikNepal.com
शुक्रबार, १३ साउन २०७४

चुनावमा एमालेभन्दा कमजोर भयौं भन्दै कांग्रेसमा खैलाबैला, पौडेलले बैठकमै लिए देउवाको सातो

दैनिक नेपाल २०७४ जेठ ४ गते १५:३६

फाइल तस्बिर

काठमाडौं, ४ जेठ । स्थानीय तहको पहिलो चरणको निर्वाचनमा आफूहरु नेकपा एमालेभन्दा कमजोर भएको भन्दै सत्तारुढ नेपाली कांग्रेसमा खैलाबैला भएको छ ।

बिहीबार पार्टी मुख्यालय सानेपामा बसेको कांग्रेस पदाधिकारी एवम् केन्द्रीय सदस्यहरुको चुनावको समीक्षात्मक बैठकमा नेताहरुले प्रतिपक्षमा बसेर एमालेले कांग्रेसका गढ आफ्नो बनाएको भन्दै चिन्ता व्यक्त गरेका हुन् ।

निर्वाचनको मतपरिणाम सार्वजनिक भैरहँदा बसेको कांग्रेस पदाधिकारी बैठकले पहिलो चरणको चुनावमा अपेक्षित परिणाम नआएको निष्कर्ष निकालेको केन्द्रीय सदस्य महेश आचार्यले जानकारी दिए । ‘जति हामीले सोचेका थियौं, त्यति राम्रो भएको छैन । यद्यपी, अन्तिम परिणाम आउन बाँकी छ,’ उनले भने– ‘बैठकमा अहिलेको परिणामको समीक्षा गर्दै आगामी चुनावी रणनीति तय भएको छ । दोस्रो चरणको चुनावमा अलि प्रभावकारी ढंगले प्रस्तुत हुन्छौं ।’

पौडेलले बैठकमै लिए देउवाको सातो

स्रोतका अनुसार बिहीबार पार्टी मुख्यालय सानेपामा बैठकमा निर्वाचनको परिणामलाई लिएर शीर्ष नेताहरुबीच भनाभन समेत भएको छ । खासगरी पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध बरिष्ठ नेता रामचन्द्र पौडेल निकै आक्रमक रुपमा प्रस्तुत भएका थिए । उनले कांग्रेसले आफ्नो गढमा चुनाव हार्नुमा पार्टी नेतृत्वकै दोष रहेको आरोप लगाउँदै निर्वाचनको परिणामका विषयमा गम्भीर रुपमा नसोचे कांग्रेसले ठूलो मुल्य चुकाउनुपर्ने चेतावनी दिएका थिए । उनको यस्तो चेतावनीलाई धेरै केन्द्री सदस्यले ताली बजाएर समर्थन गरेका थिए ।

उनले पार्टीभित्र मनपरीतन्त्र हाबी हुनु र सभापतिले सबैलाई मिलाएर अघि नबढ्नु नै कांग्रेसले आफ्नो गढमा चुनाव हार्नुको प्रमुख कारण रहेको भन्दै यसमा सभापतिले गम्भीर भएर सोच्नुपर्ने बताएको स्रोतको भनाई छ ।

चुनावी परिणाममा असन्तुष्टि जनाउँदै नेता पौडेल ठूल्ठूलो स्वरमा बोल्न थाल्न थालेपछि सभापति देउवा बैठक छोडेर निस्केका थिए ।

सत्ता हस्तान्तरण र संविधान संशोधनबारे पनि छलफल

बैठकमा संविधान संशोधन गर्ने र आगामी सरकारको नेतृत्व कांग्रेस सभापति शेरबहादुर देउवाले गर्ने विषयमा पनि छलफल भएको छ । पूर्वसहमति अनुसार माओवादी अध्यक्ष प्रचण्डले अब कांग्रेस सभापति देउवालाई सत्ता हस्तान्तरण गर्ने नेताहरु बताउँछन् ।

प्रतिक्रिया
सम्बन्धित