शुक्रबार, १३ साउन २०७४
DainikNepal.com
शुक्रबार, १३ साउन २०७४

पोखराको मेयर र उपमेयर ५ हजार मतले जित्छौं : एमालेका पूर्वमन्त्रीको विश्लेषण

दैनिक नेपाल २०७४ जेठ ४ गते १२:५२

एमाले नेता खगराज अधिकारी (फाइल तस्वीर)

पोखरा, ४ जेठ । पोखरा महानगरपालिकामा अहिले एमालेलाई पछाडि पार्दै काँग्रेस र माओवादी गठबन्धन अगाडि छ । काँग्रेसका मेयरका उम्मेदवार केही मतले अगाडि देखिएका छन् ।

तर, नेकपा एमालेका चार नम्बर प्रदेशका प्रभावशाली नेता, पूर्वमन्त्री एवं गण्डकी अञ्चलका पूर्व इन्चार्जसमेत रहेका खगराज अधिकारीले एमालेले ५ हजारको हाराहारीमा मेयर र मेयर जित्ने विश्लेषण गरेका छन् ।

दैनिक नेपालसँग कुराकानी गर्दै अधिकारीले भने – ‘मेयरमा न्यूनतम ४५ सय र उपमेयरमा ५५ सय मत अन्तरले हामी जित्छौँ ।’

नेता अधिकारीका अनुसार, स्थानीय अन्तरविरोध, वडाअध्यक्ष र सदस्य मिलाउन नसक्दा केही ठाउँमा भोट बाँडिएको देखिएको छ । ‘स्थानीय अन्तरविरोध मिलाउन सकेको भन्दै काँग्रेस चार पाँच वटा वडामै सीमित हुन्थ्यो ।’- उनको तर्क छ ।

एमालेका केन्द्रीय सल्लाहकार कमिटीका उपाध्यक्ष रहेका अधिकारीले एमालेले अपेक्षा नै नगरेको १ नम्बर वडा जितेको छ । वडा नम्बर १ मा एमालेका शारदा पराजुली विजयी भएका छन् ।

यसैगरी, वडा नम्बर २ र ६ मा भने एमालेभित्रको अन्तरविरोधका कारण काँग्रेसले जित्यो । वडा नम्बर २ मा काँग्रेसका रामेश्वर श्रेष्ठ र ६ नम्बर वडामा जगत पहारी निर्वाचित भए । जबकी वडाअध्यक्ष काँग्रेसले जिते पनि चार जना वडा सदस्य एमालेले जितेको छ।

३ नम्बर वडामा काँग्रेसका रवीन्द्रबहादुर प्रजु र ४ नम्बर वडामा काँग्रेसका शंकरप्रसाद बास्तोला विजयी भएका छन् ।

५, ७ र ८ वडा नम्बर वडामा एमालेले जितेको छ । वडा नम्बर ५ मा धनबहादुर नेपाली, ७ मा रामचन्द्र बराल र ८ रुद्र बराल निर्वाचित भएका छन् । एमालेले वडा नम्बर ८ यसअघि कहिल्यै जितेको थिएन । पोखरा लेखनाथ नगरपालिकामा वडा नम्बर ८ र १७ सबैभन्दा ठूलो वडा मानिन्छ । जहाँ २८ हजार जनसंख्या छ । १७ नम्बर वडा पनि जित्ने एमालेको दाबी छ ।

अब काँग्रेस र एमालेले कहाँ कहाँ जित्छन् ?

एमाले नेता अधिकारीको विश्लेषण अनुसार, ९, १०, ११ नम्बर वडामा काँग्रेसले जित्ने देखिएको छ । ‘१२, १३ र १४ मा टक्कर हुन्छ । १५ वडाबाट हामीले अग्रता लिन्छौंँ । त्यसपछि २३, २७, ३२ मा प्रतिस्पर्धा हुन्छ । बाँकी सबै वडा हामीले जित्छौं ।’- अधिकारीको विश्लेषण छ ।

पोखराको अन्तिम मतपरिणामका लागि आइतबारसम्म कुर्नुपर्ने देखिएको छ ।

प्रतिक्रिया
सम्बन्धित