सोमबार, १५ जेठ २०७४
DainikNepal.com
सोमबार, १५ जेठ २०७४

चीनको ओबोर परियोजना आसियानका लागि प्रेरणादायीः राष्ट्रपति रोड्रिगो

दैनिक नेपाल २०७४ जेठ २ गते १५:११

मनिला, २ जेठ । चिनियाँ राष्ट्रपतिले हालै प्रस्ताव गर्नु भएको वान बेल्ट वान रोड (ओबोर) परियोजना दक्षिणपूर्वी राष्ट्रहरुको संगठन (आसियान) लाई निकै लाभकारी हुने फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले बताउनु भएको छ ।

आसियानका सबै सदस्य राष्ट्रहरुलाई आर्थिक रुपमा एक ढिक्का हुन ओबोर नै प्रेरणाको श्रोत बन्ने उल्लेख गर्दै उहाँले बिश्वब्यापी ब्यापारीक र बाणिज्यीय मैदानमा प्रबेश गरी समग्र आसियान क्षेत्रले यथेष्ट उपलब्धि प्राप्त गर्ने दिशामा ओबोर नै एक मात्र माध्यम हो भन्नेमा आफू विश्वस्त रहेको समेत राष्ट्रपति रोड्रिगोको कथन छ ।

चीनको राजधानी बेइजिङ्गमा गत १४ र १५ मेका दिन आयोजित बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन (ओबोर) सम्मेलनमा सहभागी भई बेइजिङ्गबाट स्वदेश फर्केकै दिन दक्षिणपूर्वी फिलिपिन्सको दाभाओ नगरमा आयोजित एक सभालाई सम्बोधन गर्ने क्रममा राष्ट्रपति रोड्रिगोले उक्त कुरा बताउनु भएको हो ।

गतः बर्षको जून महिनामा कार्यभार सम्हाल्नु भएका राष्ट्रपति रोड्रिगोको यो दोश्रो पटकको औपचारिक चीन भ्रमण हो ।

ओबोरले आसियान सदस्य राष्ट्रका गाह्र्यस्थ उत्पादनहरुलाई बिस्तारित बिश्व बजारसम्म पुग्न बाटो सहज पार्नेछ । अब आसियान राष्ट्रले आ–आफ्ना औद्योगिक उत्पादनहरु जति बढाए पनि हुन्छ, बजारको खाँचो पर्ने छैन, केबल यस परियोजनाबाट अधिकतम लाभ मात्र लिन सक्नु पर्छ । आसियानका लागि यो एक अथाह लाभकारी परियोजनाको शुरुवात हो – ओबोरको खुलेर प्रशंसा गर्दै राष्ट्रपति डुटेर्टेले भन्नु भयो ।

मुलुकको राजनीतिक स्थिरता, सुरक्षा र शान्तिः यी तीन आधारभूत तत्वहरुको संयुक्त पीठमा मात्र समृद्धि र विकासले यात्रा गर्छ । आसियान सदस्य राष्ट्रहरुमा केही छिटपुटका घटना बाहेक राजनीतिक स्थिरता, सुरक्षा र शान्तिजस्ता प्रमुख तत्वहरु बिद्यमान रहेकै हुँदा समृद्धि र बिकासको गतिलाई तीब्र पारौं, ओबोर जस्तो स्थायी र सुनौलो अवसरबाट मनग्ये लाभ उठाऔं राष्ट्रपति डुटेर्टेले आह्वान गर्नु भयो ।

आसियान सदस्य राष्ट्रहरुमा ब्रुनाइ, कम्बोडिया, इन्डोनेसिया, लाओस, मलेसिया, म्यान्मार, फिलिपिन्स, सिङ्गापुर, थाइल्यान्ड र भियतनाम समेत १० वटा रहेका छन् । फिलिपिन्स आसियान बैठकको यस बर्षको अध्यक्ष राष्ट्र हो । अर्को सुखद संयोग छः आफ्नो स्वतन्त्रता र स्वाधीनताको ५० औं वर्ष टेकेको उपलक्षमा फिलिपिन्सले यसै बर्ष स्वतन्त्रताको स्वर्ण महोत्सब मनाउँदैछ । – सिन्ह्वा

प्रतिक्रिया
सम्बन्धित