सोमबार, ४ मंसिर २०७४
DainikNepal.com
सोमबार, ४ मंसिर २०७४

पोखरामा स्केट पार्क बनाउने किमलाई सम्मान

दैनिक नेपाल २०७४ वैशाख ३० गते ७:४९

काठमाडौं, ३० वैशाख । पोखरामा स्केट पार्क निर्माण गर्न सहयोग पु-याएको ‘मेक लाइफ, स्केट लाइफ’ टोलीकी सदस्य मध्येकी एक किम इवेन्सलाई नेपाल स्केटिङ तथा स्केट बोर्ड संघले शुक्रबार एक कार्यक्रमबीच धन्यवादज्ञापन गरेको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का प्रेस सल्लाहकार रोहित दाहाल, संघका अध्यक्ष अच्यूत खनाल र महासचिव चूडामणि खरेलले बेल्जियम निवासी किमलाई मायाको चिनो प्रदान गरे ।

पोखरा रंगशालामा निर्माण गरिएको उक्त स्केट पार्क पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिलाई अप्रिल २९ तारिख हस्तान्तरण गरिएको थियो । करिब ३० हजार डलर खर्च गरी निर्माण गरिएको उक्त पार्क १८ दिनमा टोलीले निर्माण कार्य सम्पन्न गरी हस्तान्तरण गरेको हो । विभिन्न राष्ट्रका ६० विदेशीले निर्माण कार्यमा श्रमदान गरेका थिए ।

त्यस अवसरमा किमले पार्कको रेखदेख राम्रोसंग हुनु पर्नेमा जोड दिदै बालवालिकालाई स्केट सिक्नका लागि स्केट बोर्डको व्यवस्था गरिदिने बताइन् । किमले आफूहरुसंग जनशक्ति भएकाले कुनै निकायले अनुरोध गरेको खण्डमा स्केट पार्क निर्माण गरिदिन तयार रहेको बताइन् । किमको टोलीले बोलिभियन, जोर्डन, भारतलगायतका स्थानमा पनि स्केट पार्क निर्माण गरिदिएका थिए ।

प्रेस सल्लाहकार दाहालले स्केट पार्कको रेखदेखका लागि विशेष ध्यान दिने बताउदै किमलगायतको टोलीले स्केट पार्क निर्माण गरेर उनीहरुले स्केटप्रति मात्र नभइ समग्र नेपाललाई माया दर्शाएका धारण व्यक्त गरे ।

अध्यक्ष खनाल र महासचिव खरेलले किमसहितको टोलीले गरेको कार्यको प्रशंसा गर्दै टोलीलाई धन्यवाद दिए । उनीहरुले नेपालका अन्यत्र स्थानमा पनि पार्क निर्माणका लागि योजना बनाउन आग्रह गरे ।

प्रतिक्रिया
सम्बन्धित