बुधबार, १३ वैशाख २०७४
DainikNepal.com
बुधबार, १३ वैशाख २०७४

चुनाव लड्न शिक्षकद्धारा धमाधम राजीनामा, जागिरेबिरुद्ध काँग्रेसमा विद्रोह !

दैनिक नेपाल २०७४ वैशाख ८ गते २१:५४

ओखलढुंगा, ८ बैशाख । ओखलढुंगामा स्थानीय तहको निर्वाचनमा पार्टीले टिकट दिने भएपछि शिक्षकहरुले धमाधम राजीनामा दिन थालेका छन् । जिल्ला शिक्षा कार्यालयमा १० जना शिक्षकहरुले राजीनामा दिइ सकेका छन् । टिकट निश्चित भएपछि उनीहरुले राजीनामा दिएका हुन् ।

राजीनामा दिनेहरुमा एमाले निकट शिक्षक संगठनका अध्यक्ष विशाल पौडेल र सदस्य हरि घिमिरे छन् । पौडेलले वडा प्रमुख र घिमिरेले चम्पादेवी गाउँपालिकाको प्रमुखको टिकट पाउने भएपछि राजीनामा दिएको बताए । पार्टीको आग्रहमा आफुले राजीनामा गरेको पौडेलले बताए ।

त्यस्तै चुनाव लड्न शिक्षक संघका तीर्थ घिमिरले राजीनामा दिएका छन् । उनी सिद्धिचरण नपाको १ नं वडामा अध्यक्ष लड्दैछन् । माम्खाका लोकबहादुर राई, मूलखर्कमा मोहन तामाङ, बलखुमा केशव लुइटेलले राजीनामा दिएका छन् । माओवादी केन्द्र निकटका देवराज श्रेष्ठ र धनश्याम दाहालले पनि राजीनामा दिएका छन् । उनीहरुलाइ पार्टीले वडा अध्यक्षको उम्मेदवार बनाउने भएपछि राजीनामा गरेर चुनाव प्रचारमा लागेका छन् ।

जागिरे नेता विरुद्ध विद्रोह हुने !

त्यस्तै शिक्षक संघका वेदबहादुर रोक्काले खिजीदेम्वा गाउँपालिका प्रमुखको टिकट पाउने भएपछि राजीनामा दिने तयारी गरेका छन् । राजीनामा दिने शिक्षकहरु नेपाली काँग्रेस निकटका धेरै रहेका छन् । पार्टीमा क्रियाशिल कार्यकर्ताहरुले भने जागिरेहरुलाई टिकट दिन नहुनेमा पार्टी नेतृत्वलाई दवाव दिइरहेका छन् ।

उर्जावान् समय पार्टीमा लगानी गरेकालाई पन्छाएर जागिरेहरुलाई टिकट दिए विद्रोह हुने खिजीदेम्वा गाउँ पालिकाका एक काँग्रेस नेताले बताए । उनले काँग्रेसमा सयौं योग्य नेताहरु भए पनि जागिरेलाई टिकट दिए सक्रिय कार्यकर्ताहरुले विद्रोह गर्ने बताए । एमाले माओवादीमा पनि जागिरेहरुलाई टिकट दिन नहुनेमा चर्को दवाव छ ।

चुनाव लड्न शिक्षकहरुले राजनिामा दिने क्रम दैनिक बढीरहेको छ । जिल्ला शिक्षा कार्यालयले राजीनामा धमाधम आए पनि प्रयोजन भने नखुलेको जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित