बिहीबार, १२ साउन २०७४
DainikNepal.com
बिहीबार, १२ साउन २०७४

देउवाको चुनावी क्षेत्र धनगढीको मेयरमा उद्योगी हमालको स्वतन्त्र उम्मेदवारी

दैनिक नेपाल २०७४ वैशाख ८ गते १७:२५

धनगढी, ८ वैशाख । निर्वाचनको सरगर्मी बढ्दै जाँदा धनगढी उपमहानगरपालिकाको प्रमुखमा यस क्षेत्रका उद्योगी एवम् व्यापारी गोपाल हमालले आज आफ्नो स्वतन्त्र उम्मेदावरी घोषणा गर्नुभएको छ ।

कैलाली उद्योग वाणिज्य सङ्घ पूर्व अध्यक्षसमेत रहनु भएका हमालले आज यहाँ आयोजित सभामा धनगढीबाट विकास र समृद्धिको अभियान सुरु गर्न आफूले सो उपमहानगरको प्रमुखमा उम्मेदवारी घोषणा गरेको बताउनुभयो ।

धनगढी उपमहानगरको प्रमुखमा औपचारिक रुपमा आफ्नो उम्मेदवारी घोषणा गर्ने हमाल पहिलो व्यक्ति हुनुहुन्छ ।

उपमहानगरको प्रमुख र उप प्रमुखमा नेकपा माओवादी केन्द्रले पार्टीका तर्फबाट उठाउने उम्मेदावारको टुङ्गो लगाइसकेको छ । सो पार्टीले प्रमुखमा रामसमझ राना र उप प्रमुखमा शान्ति अधिकारी क्षेत्रीलाई उठाउने तय गरिसकेको छ ।

नेपाली काँग्रेस, नेकपा एमाले राप्रपा नेकपा माले लगायतका दलले उपमहानगरको प्रमुख उप प्रमुखमा कसलाई उठाउने भन्ने टुङ्गो अझै लगाउन सकेका छैनन् ।
सात नं प्रदेशको एकमात्र उपमहानगर धनगढी भएकाले महानगरको प्रमुख तथा उप प्रमुखको पदको टिकट हत्याउन विभिन्न दलमा आन्तरिक प्रतिस्पर्धा निकै बढेको छ ।

साविक सुदूरपश्चिमको मुख्य व्यापारिक केन्द्र रहेको र गएको संविधान सभाको निर्वाचनमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको विजयी क्षेत्र भएकोले पनि यो उपमहानगरको निर्वाचनलाई दलहरुले आ–आफ्नो प्रतिष्ठाको विषय बनाउने अनुमान सबैको छ । रासस

प्रतिक्रिया
सम्बन्धित