शनिबार, २ मंसिर २०७४
DainikNepal.com
शनिबार, २ मंसिर २०७४

भारतसँग मिल्दो नयाँ पार्टीको झण्डाको आलोचना भएपछि राजपाका नेता कड्किए

भन्छन्– ‘झण्डा भारतको जस्तो हुँदा के भयो र ?’

दैनिक नेपाल २०७४ वैशाख ८ गते १६:५२

काठमाडौं, ८ वैशाख । ६ मधेसी दल मिलेर बनेको राष्ट्रिय जनता पार्टी (राजपा)को झण्डा भारतसँग मिल्दोजुल्दो भन्दै आलोचना भएपछि सो दलका एक नेताले कडा जवाफ दिएका छन् ।

विहिबार मधेसी मोर्चामा आबद्ध ६ दलबीच राजधानीमा एकीकरण भएको थियो । एकीकरणपछि जन्मिएको राजपाको झण्डा छाता राखिएको छ । र, यो झण्डा भारतको झण्डासँग मिल्ने खालको छ । भारतको झण्डाको बीचमा गोलाकार वस्तु राखिएको छ भने राजपाको झण्डाको छाता राखिएको छ । झण्डामा बस यति मात्रै फरक छ । रंगदेखि लिएर साइजसम्म एउटै छ । जसकाकारण झण्डा भारतसँग मिल्यो भनेर आलोचना भइरहेको छ ।

पार्टीका नेता लक्ष्मणलाल कर्णले अलोचना गर्नेलाई जवाफ दिँदै भने– ‘हामीलाई कसले पो नेपाली भनेका छन् र ? हामीलाई भारतीय भनेर आरोप लगाइरहेकै छन् भने झण्डा भारतको जस्तो हुँदा के भयो र ?’

कम्युनिष्टहरुले पनि हँसिया–हतौडा अंकित झण्डा प्रयोग गरेको भन्दै उनले हामीले प्रयोग गर्दा के विग्रिन्छ भन्दै उल्टै प्रश्न गरे । ‘हामीलाई शासकहरुले हेर्ने दृष्टिकोण नै गलत छ,’ उनले भने, ‘हामीलाई मात्र किन आलोचना हुन्छ । उनीहरुले अरुको झण्डा प्रयोग गर्दा हुने हामीले नहुने ?’

राजेन्द्र महतो नेतृत्वको पार्टीका सहअध्यक्ष रहेका नेता कर्णले सद्भावना पार्टीको पहिला पनि झण्डा यस्तै रहेको भन्दै यो कुनै ‘इस्यु’ नभएको तर्क गरे ।

प्रतिक्रिया
सम्बन्धित