बुधबार, १३ वैशाख २०७४
DainikNepal.com
बुधबार, १३ वैशाख २०७४

चलचित्र संघमा नयाँ नेतृत्व, पहिलो बैठकले के–के निर्णय गर्‍यो ?

दैनिक नेपाल २०७४ वैशाख ८ गते ८:३८

काठमाडौं, ८ वैशाख । चलचित्र हल मालिकहरूको संस्था नेपाल चलचित्र संघका नवनिर्वाचित अध्यक्ष प्रदीप उदयसहितका सदस्य र पदाधिकारीले जिम्मेवारी सम्हालेका छन् ।

काठमाडौंको विशालनगरस्थित कार्यालयमा बिहीबार पद तथा गोपनीयताको शपथ लिएलगत्तै बसेको पहिलो बैठकले छ जना पदाधिकारी मनोनीत गरेको हो । अध्यक्ष उदयले महासचिवमा अर्जुन श्रेष्ठ र उप–महासचिवमा मिजास पोखरेललाई मनोनय गरेका छन् ।

त्यसैगरी उनले प्रथम उपाध्यक्षमा वीरेन्द्र नारायण श्रेष्ठ, द्वितीय उपाध्यक्षमा मधुसुदन प्रधान, तृतीय उपाध्यक्षमा नरेन्द्र महर्जन र कोषाध्यक्षमा गोपालकाजी कायस्थलाई मनोनयन गरेको महासचिव श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

अध्यक्ष उदयले संघको सदस्यमा त्रिरत्न मानन्धरलाई पनि मनोनयन गरेका छन् ।

नयाँ बजेटमा समग्र चलचित्र क्षेत्रको विकासका लागि सरकारलाई सुझाव दिन उपाध्यक्ष नरेन्द्र महर्जनको संयोजकत्वमा तीन सदस्यीय सुझाव समिति गठन भएको अध्यक्ष उदयले जानकारी दिए । समितिमा गोपालकाजी कायस्थ र कपिलप्रसाद द्वा सदस्य छन् ।

केन्द्रीय चलचित्र जाँच समितिबाट चलचित्रहरू सरल र सहज तरिकाले जाँच गर्ने गराउने कार्यलाई बढी प्रभावकारी गाउनका लागि उपाध्यक्ष मधुसुदन प्रधानको संयोजकत्वमा तीन सदस्य सुझाव समिति पनि गठन गरिएको छ । समितिका सदस्यहरूमा विक्रम पराजुली र मदनमान बज्राचार्य रहेका छन् ।

त्यसैगरी, मदनमान बज्राचार्यलाई उपत्यका सभापति, कपिलप्रसाद द्वालाई पश्चिमाञ्चल सभापति, नारायणप्रसाद आचार्यलाई न्यायिक समिति सभापति, त्रिरत्न मानन्धरलाई प्रदर्शन सभापति, विक्रम पराजुलीलाई वितरण सभापति र चैतन्य बराललाई पूर्वाञ्चल सभापतिमा मनोनय गर्ने निर्णय भएको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया
सम्बन्धित