शनिबार, २ मंसिर २०७४
DainikNepal.com
शनिबार, २ मंसिर २०७४

म्यादी पुलिसले ५५ दिनमा कति कमाउँछन् ?

दैनिक नेपाल २०७४ वैशाख ८ गते ६:२९

काठमाडौं, ८ वैशाख । सरकारले निर्वाचनका लागि खटिने म्यादी प्रहरीको सेवा सुविधा निर्धारण गरेको छ ।

विहीबार बसेको मन्त्रिपरिषद बैठकले गरेको निर्णय अनुसार म्यादी प्रहरीले ५५ दिनको तलब वापत ५१ हजार रुपैयाँ पारिश्रमिक पाउनेछन् । उनीहरुले पोशाक भत्ताको रुपमा थप ७ हजार १ सय रुपैयाँ पाउँनेछन् । राजधानी दैनिकले समाचार छापेको छ ।

गतबर्ष पोशाक नपाएको भन्दै म्यादी प्रहरीले गुनासो गरेपछि पोशाक बराबर सो रकम दिने निर्णय गरेको हो । यस पटक अघिल्लो निर्वाचनमा जस्तो सरकारले पोशाक सिलाएर दिने छैन । गृह मन्त्रालयले तोकिदिएको मापदण्ड अनुसार म्यादी प्रहरीले आफै पोशाक किन्नुपर्नेछ ।

यसका अतिरिक्त पनि म्यादी प्रहरीका लागि सुविधा निर्धारण गरिएको छ । निर्वाचनमा खटिँदा सात दिन उनीहरुलाई थप विशेष भत्ता उपलब्ध गराइने छ । एक सातामा उनीहरुले प्रतिदिन २ सय ५० रुपैयाँका दरले ७ दिनको १७ सय ५० रुपैयाँ थप भत्ता पाउनेछन् ।

यस्तै निर्वाचन अवधिभर प्रतिदिन २ सय ५० रुपैयाँको दरले सरकारले खाजा खर्च पनि उपलब्ध गराउने छ । सुरक्षाका लागि सरकारले देशभर ७५ हजार म्यादी प्रहरी भर्ना गरेको छ । म्यादी प्रहरीलाई आवश्यक तालिम दिएर गृह मन्त्रालयले सम्बन्धित मतदान स्थलमा खटाउँछ ।

निर्वाचनका बेला कुनै घटना दुर्घटना भएमा सरकारले म्यादी प्रहरीका लागि बिशेष वीमाको व्यवस्था समेत गरेको छ । निर्वाचन अवधिभर ५५ दिनका लागि प्रतिम्यादी प्रहरी २ लाख बराबरको दुर्घटना बीमा गर्ने निर्णय गरेको हो ।

यस्तै उनीहरुका लागि १ लाख ५० हजार रुपैयाँसम्मको स्वास्थ्य वीमा गरिने भएको छ । निर्वाचन अवधि ५५ दिनभित्र कुनै म्यादी प्रहरी विरामी परेमा एक लाख ५० हजार रुपैयाँसम्मको उपचार खर्च पनि सरकारले व्यहोर्ने छ ।

प्रतिक्रिया
सम्बन्धित