बुधबार, १३ वैशाख २०७४
DainikNepal.com
बुधबार, १३ वैशाख २०७४

च्याम्पियन्स लिगको सेमिफाइनलमा फ्रेन्च टोली

दैनिक नेपाल २०७४ वैशाख ७ गते ७:०१

लन्डन, ७ वैशाख । मोनाको सन् २००४ पछि च्याम्पियन्स लिगको सेमिफाइनल पुग्ने फ्रेन्च टोली बन्न पुगेको छ । जर्मनी क्लब बोरुसिया डर्टमुन्डविरुद्ध भएको क्वाटरफाइनलअन्तर्गत दोस्रो लेगको खेलमा मोनाको ३–१ गोलले विजयी भएपछि सेमिफाइनल प्रवेश गरेको हो ।

यसअघि डर्टमुन्डमा भएका पहिलो लेगको खेलमा पनि मोनाको ३– २ गोलले विजयी भएको थियो । डर्टमुन्डका खेलाडी मैदानमा आउन ढिलाई भएपछि खेल सुरु हुनु ५ मिनेटको समय लम्बिएको थियो ।

१८ वर्षीय फ्रेन्च स्ट्राइकर केलियान मम्बापेले ३ मिनेटमै गोल गरेपछि मोनाकोले घरेलु मैदानमा सुरुमै अग्रता बनाएको थियो ।

मम्बापेले च्याम्पियन्स लिगको नकआउट चरणको ४ खेलमै गोल गरेका हुन् । अर्को गोल राडामेल फाल्काओले १७ मिनेटमा गरे ।

उनको युरोपेली फुटबल प्रतियोगिताको ५० खेलमा यो ४५ औं गोल थियो । उनले यो सिजन च्याम्पियन्स लिगमा ५ गोल गरेका छन् ।

तेस्रो गोल भालेर जर्मनले ८१ मिनेटमा गरेका थिए । डर्टमुन्डका लागि एक मात्र गोल ४८ मिनेटमा मार्को रेउसले फर्काए ।

डर्टमुन्डले क्वाटरफाइनल समग्रमा ६–३ गोलको फरकमा गुमाएको हो । मोनाकोको जितपछि च्याम्पियन्स लिगमा यो सिजन सेमिफाइनल पुग्ने ४ टिमको समिकरण पुरा भएको छ ।

यसपालि स्पेनको दुई क्लब रियल म्याड्रिड र एट्लेटिको म्याड्रिड, फ्रेन्च क्लब मोनाको र इटालियन क्लब युभेन्ट्स सेमिफाइनल पुग्न सफल भएका छन् । – एजेन्सी

प्रतिक्रिया
सम्बन्धित