शनिबार, १२ चैत २०७३
DainikNepal.com
शनिबार, १२ चैत २०७३

भारतले दलाई लामा बोलाएपछि चीन क्रुद्ध, ‘एक चीन’ नीतिविरुद्ध नजान चेतावनी

दैनिक नेपाल २०७३ चैत ७ गते २२:३०

काठमाडौं, ७ चैत । चीन सरकारले भारतमा आयोजित अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा तिब्बती धर्मगुरु दलाई लामालाई निम्त्याइएको बिषयमा असन्तुष्टि जनाएको छ ।

बौद्ध सम्मेलनको आयोजना भारत सरकारले गरेको हो भने दलाई लामालाई पनि भारत सरकारले नै बोलाएको हो ।

सोमबार बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुवा छुनयिङले दलाई लामालाई सम्मेलनमा आमन्त्रण गर्नु ‘एक चीन नीति’ विरुद्धको कदम भन्दै त्यसो नगर्न चेतावनी दिइन् ।

‘केही समयता भारतले चीनको चासोविरुद्ध गएर दलाई लामालाई बौद्ध सम्मेलनमा निम्त्याएको छ’, बेइजिङमा प्रवक्ता हुवाले पत्रकारहरुसँग भनिन्– ‘भारत सरकारको निर्णयप्रति चीन असन्तुष्ट छ र यसको कडा प्रतिवाद गर्दछ । दुई पक्षीय सम्बन्ध नबिगार्ने भए हाम्रो मुख्य चासोविरुद्ध नजान सचेत गराउछौं ।’

उनले भारतलाई चीनको मुख्य चासोको सम्मान गर्न र दुई देशको सम्बन्ध बिगार्नेतर्फ कदम नचाल्न आग्रह समेत गरिन् ।

शुक्रबार बिहारमा भएको अन्तर्रा्ष्ट्रिय बौद्ध सम्मेलनको उद्घाटन दलाई लामाले गरेका थिए । उक्त सम्मेलनको क्रममा भएको सेमिनारमा कयौं देशका बौद्ध भिक्षु र अध्येताहरुको सहभागिता छ ।

प्रतिक्रिया
सम्बन्धित