शुक्रबार, ९ असार २०७४
DainikNepal.com
शुक्रबार, ९ असार २०७४

एमाले नेताको प्रश्न- राप्रपा धर्नामा लाठी चार्ज! निधिले कमल थापासँग प्रतिसोध साँधेका त होइनन् ?

दैनिक नेपाल २०७३ चैत ७ गते २०:०६

काठमाडौं, ७ चैत । आफ्नो पार्टीको विधानबाट ‘हिन्दू राष्ट्र र राजसंस्था’ हटाएको भन्दै सत्तारुढ दल राष्ट्रिय प्रजातन्त्र पार्टीले आज निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्यो ।

प्रदर्शनका क्रममा प्रहरीसँग झडप पनि भयो । वरिष्ठ नेता पशुपति सम्शेर राणा, गायिका कोमल वलीसहित ५० जना भन्दा बढी घाइते भए । झडप भएलगत्तै उपप्रधानमन्त्री तथा राप्रपा अध्यक्ष कमल थापा सिंहदरबारबाट सिधा निर्वाचन आयोगको कार्यालय अगाडि कान्तिपथ आइपुगे । र, आफ्ना कार्यकर्तामाथि प्रहरी दमन भएको देखेपछि मन्त्री पदको प्रवाह नगरी आफै धर्नामा बसे ।

थापा आफै धर्नामा बसेपछि आलोचना पनि भइरहेको छ ।

यसैबीच प्रमुख प्रतिपक्षी नेकपा एमालेका नेताले भने आलोचनाको सट्टा आशंका व्यक्त गरेका छन् । शान्तिपूर्ण प्रदर्शन गर्न पाउनु राप्रपाको अधिकार हो भन्दै एमाले नेताले प्रहरी प्रशासनबाट भएको दमनको विरोध गरेका छन् ।

एमाले स्थायी समिति सदस्य एवं पूर्वमन्त्री शंकर पोखरेलले त उपप्रधानमन्त्रीद्धयबीच भएको वरियता विवादले आजको घटना हुनपुगेको आशंका गरेका छन् ।

पछिल्लो समय वरियतामा पहिलो नम्बरमा रहेका उपप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधि भारत भ्रमणमा गएको बेला प्रधानमन्त्री प्रचण्डले अर्का उपप्रधानमन्त्री कमल थापालाई निधिको ठाउँ दिएका थिए । आफ्नो पोजिशन थापालाई दिएपछि निधि असन्तुष्ट थिए । र, सरकार छाड्ने धम्कीसम्म दिएका थिए ।

संयोगवंश आजै थापा नेतृत्वको राप्रपाको निर्वाचन आयोग घेराउ कार्यक्रम थियो । जसमा प्रहरीले हस्तक्षेप गर्यो । सरकारका उपप्रधानमन्त्रीको पार्टीको कार्यक्रममा प्रहरी हस्तक्षेप भएपछि एमाले नेताहरुले प्रतिसोध साधिएको शंका गरेका हुन् । हुन पनि यतिबेला गृह प्रशासन निधिकै हातमा छ, जसले आशंका गर्ने अवस्था सिर्जना भएको छ ।

नेता पोखरेलले प्रश्न गरेका छन्- ‘दुई उपप्रमका बीचको वरियता विवाद र आजको राप्रपाको धर्नामा भएको लाठी चार्ज बीच कुनै सम्वन्ध होला कि नाई ? भन्ने प्रश्नको उत्तर दिन गाह्रो भो ।’

यता पत्रकार मिलन तिम्लिसिनाले लेखेका छन्– ‘प्रधानमुन्तिरका दुई उपप्रधानमा तँ ठूलो कि म ठूलो भैराथ्यो क्यारे । आज मौकामा एक उपप्रधानले अर्का उपप्रधानको दललाई रामधुलाई गर्न लगाएछन् ।’

प्रतिक्रिया
सम्बन्धित