सोमबार, ६ कार्तिक २०७४
DainikNepal.com
सोमबार, ६ कार्तिक २०७४

रवीन्द्र मिश्रमा सीके राउतको छायाँ देख्नेहरुका नाममा…

सरगम भट्टराई २०७३ चैत ७ गते १३:२१

सगरमाथा टेलिभिजनको ‘सगरमाथा बिशेष’मा एउटा कथित राजनीतिक बिश्लेषक (डा सुरेन्द्र केसी)को अन्तर्वार्ता हेर्न पाईयो । कतिपय अनलाईन पोर्टलहरुले त्यो अन्तर्वार्ताको लिंक समेत शेयर गरेर ईन्टरनेटको मिडियामा धेरै मान्छेले शेयर गरेको देखेँ, जसको शीर्षक थियो– ‘नेपाललाई भारतमा मिलाउँदा के हुन्छ भनेर बहस चलाउने मान्छे रवीन्द्र मिश्र हुन् ।’ जुन कपोकल्पित, अप्रासंगिक, अप्राज्ञिक र कसैको नैतिक धरातल गिराउने ध्येय भनेर साझा पार्टीका संयोजक मिश्रले खण्डन पनि गरिसकेका छन् ।

निष्ठाको लड़ाई लड्ने रवीन्द्र मिश्र कसरी सीके राउतको अर्को रुप हुन सक्छन ? देशलाई अनिर्णयको बन्धक बनाएर बिभिन्न वादको पछाडि लागेर लोकतन्त्रको नाममा आफ्नै पोल्टा मात्र भर्ने काम किन भइरहेको छ ? राजनीतिमा दलाल र दलाल राजनीतिले देश कसरी अघि बढ्छ ? कथित प्राज्ञलाई मेरो प्रश्न- तिमीले देशको लागि कति गर्यौ ? जनता जान्न चाहन्छन् ।

सामान्य मान्छेले बुझ्ने भाषामा डाक्टर भनेको एउटा प्राज्ञ, देशको बौद्धिक तर तटस्थ मान्छे, कुनै बिषयमा उच्च ज्ञान भएको र सुक्ष्म बिश्लेषण गर्न सक्ने तार्किक मान्छे भन्ने बुझिन्छ । तर, यी डाक्टर साहेवको अन्तर्वार्ता हेर्दै जाँदा यस्तो लाग्यो यिनको प्राज्ञिकता त कसैको बल लगाएर तारिफ गर्ने त कसैको चरित्रमाथि निराधार टिप्पणी गर्ने र त्यसकै चचहूईँमा रमाएर आफ्नो सस्तो लोकप्रियता खोज्ने बाहेक अरु केही देखिएन ।

मैले चर्चा गर्न खोजेका ती प्राज्ञ र तीनको शब्दजालमा ‘हो मा हो’ गर्दै आफू यहाँसम्म आउँदा निर्लज्ज भई जिन्दगी भरि एउटा पार्टीको तारिफ र मन नपर्नेको सत्तोश्राप गर्ने कथित बुद्धिजिवीहरु सहित उनको त्यही अत्यन्त अमर्यादित र अशिष्ट शब्द जालको सेरोफेरोमा रमाएर साँझ नपर्दै गिलास ठोक्काउनेहरुको नाममा केही लेख्न चाहन्छु ।

रवीन्द्र मिश्रले आफ्नो दुई दशक भन्दा लामो पत्रकारिता जीवनमा पेशागत बिशिष्ठता मात्र हासिल गरेनन् बरु नेपालका सबैजसो राजनीतिक ब्यक्तित्वका नशामा बग्ने रगत र छातीमा बस्ने देशप्रेम सम्मको बिश्लेषण गरेका छन्, नाड़ी छामेका छन् । लोकतन्त्र जस्तो जनताको ब्यवस्थामा दलाल राजनीति गरेर मालामाल भएका हिजोका कंगाल राजनीतिज्ञहरुको झूठ र बेईमानको जग हल्लाई दिएका छन्, ब्यवस्थाकै बदनाम गर्ने गरी देश कंगाल पारेर आफू मालामाल हुनेहरुको भण्डाफोर गरेका छन् ।

यति मात्र कहाँ हो र ! पत्रकारितालाई परोपकारसंग जोडेर हेर्दै समाजसेवा गरिरहेका मिश्रलाई जब राजनीतिको मूल सफा नगरी एक दुई वटा समाजसेवा गर्दैमा देशमा समृद्धि हुन सक्दैन भन्ने लाग्यो तब उनले बैकल्पिक राजनीतिक शक्तिको लागि धेरै बहस चलाएर अन्त्यमा आफूलाई पूर्णकालीन राजनीतिमा होमेका छन् जसमा धेरै स्वतन्त्र र राम्रा ब्यक्तित्वहरुको आगमन हुने क्रम तीब्र छ ।

के राजनीतिमा दलाली गर्ने र दलाली राजनीति गर्नेको बिरोध गर्ने रवीन्द्र मिश्र देशद्रोही हुन् भनेर प्रमाणित गर्नसक्ने दम यी प्राज्ञ र अरु फूटकर बिश्लेषकहरुमा छ ?

अरुलाई दोष दिएर होइन आफै अघि सरेर मात्र केही गर्न सकिन्छ भन्ने अठोटका साथ पद्दति, पारदर्शिता, ईमान्दारिता र उत्कृष्टतालाई आधार बनाएर साझा पार्टी बनाउने प्रस्ताव गरेको कुरा त सबैलाई थाहै छ ।

अब म तिनै माथि उल्लेखित प्राज्ञको अन्तर्वार्ता तर्फ फर्कन चाहन्छु– बीस बर्ष जागिर गरेर बुढेसकालमा राजनीति गर्न आए भन्ने सुन्दैमा निकृष्ट भाषा प्रयोग गर्ने कथित प्राज्ञ आफै किन खुलस्त राजनीति गर्न आएनन् ? उनका छोरा छोरी र आफन्तले कहाँ के गर्दैछन् ? के कसैले स्वच्छ मनले राजनीति गरेर देशको प्रणाली बदल्नु भन्नु बेठिक हो ? उनी आफूले देश र जनताको हितमा अहिलेसम्म गफ बाहेक के गरेका छन् ? जनताले जान्न चाहेका छन् ।

धमिलो राजनीति सच्याउँछु भन्नेलाई शंका किन ?

रवीन्द्र मिश्र भगवान होईनन्, उनलाई भगवान बनाईनु पनि हुन्न । तर, जुन लक्ष्य लिएर उनी राजनीतिमा होमिएका छन् त्यो लक्ष्य पूरा गर्न उनी दृढ छन्, उनको सिंगो टिम दृढ़ छ, त्यसैले सबै सच्चा नेपालीले उनलाई सहयोग गर्ने बेला हो यो ।

जति लड़ाई पूराना भनाउँदा राजनीतिकर्मीले भौतिक रुपमा गरेका छन्, त्यो भन्दा बढि मानसिक रुपमा रवीन्द्र मिश्रले आफ्नो पत्रकारिता मार्फत गरेका छन् कि छैनन् ? होईन भने जेल नेल भोगेर देशको लागि मर्ने बाँच्ने कसम खाएर देशलाई यहाँसम्म ल्याई पुर्याएका राजनीतिकर्मी आफै बिलासिता, दलाली र जनघाती काम गरेर किन बिरोधका पात्र बनेका छन् ?

लेखक

तिनै प्राज्ञ जसले यतिका बर्षसम्म शक्ति र शक्तिकेन्द्रको गुलामी गरेर दलदास बनेर बाँचेका छन्, कुनै अमूक दलको आशिर्वादले अझ गतिलो पदमा पुग्न पाईन्छ कि भनेर र्याल काढेका छन्, तिनैले एउटा नागरिकको प्रिय, जानेर एक पैसा पनि भ्रष्टाचार गरेको भए मेरी आमाको रगत खाए बराबर होस् भनेर आमाको मुख हेर्ने दिनमै कसम खान सक्ने मान्छेलाई निराधार र निकृष्ट आरोप के आधारमा लगाउँछन् ? वाक स्वतन्त्रता भन्दैमा के कसैको नैतिक धरातल नै तहस नहस हुने गरी सस्तो लोकप्रियताका लागि जे पनि बोल्न छुट छ ?

तिनै कथित प्राज्ञले नेपालबाट मधेश छुट्टिएर स्वतन्त्र राष्ट्र बन्नुपर्छ भनेर बितन्डा मच्चाउने सीके राउत र बेथितीसंग लड्न नयाँ पार्टी खोलेर परिवर्तन हाम्रै जीवनकालमा ल्याउँछौ भन्ने अभियन्ता रवीन्द्र मिश्र एउटै हुन् भनेर भन्नेले भोलि आफूले बोलेका कुराहरु टुँडिखेलमा प्रमाणित गर्नु पर्छ पर्दैन ?

के राजनीतिमा दलाली गर्ने र दलाली राजनीति गर्नेको बिरोध गर्ने रवीन्द्र मिश्र देशद्रोही हुन् भनेर प्रमाणित गर्नसक्ने दम यी प्राज्ञ र अरु फूटकर बिश्लेषकहरुमा छ ?

आचरणमा सही, लक्ष्यमा अडिग र संकल्पमा प्रतिबद्ध रवीन्द्र मिश्रलाई धेरै स्वतन्त्र नागरिकहरुले आफ्नो आदर्श मानिरहेको बेला, संचार माध्यममा उनका बारेमा कोही कसैले औला नठड्याई, आलोचना नगरी सद्भाव राखिरहेको बेला, पार्टीको औपचारिक घोषणा नहुदै देश बिदेशमा अभूतपूर्व रुपमा धमाधम ईकाईहरु बनिरहेको बेला, लाखौँ जनता यो दलाली राजनीतिबाट वाक्क भएको बेला परिवर्तनको लागि लागी परेको मान्छेलाई एउटा प्राज्ञ जस्तो मान्छेले अशिक्षित, गवाँर र सन्की मान्छेले सम्म बोल्न नमिल्ने क्षुद्र भाषा बोल्नुको मतलब के हुन सक्छ ? के यी कथित बिश्लेषक कसैबाट संचालित छैनन् भन्न मिल्छ ? हैन भने यसै ब्यवस्थामा रहेर साझा पार्टीले अंगाल्न खोजेको उदारवादी लोककल्याणकारी राज्यको अवधारणा माथि धज्जी उडाएर यी कथित प्राज्ञले के गर्न खोजेका हुन् ? यी प्राज्ञ हुन या कुनै दल बिशेषका प्रवक्ता हुन् ?

प्रस्तावित साझा पार्टी र यसले उठाएका एजेण्डाहरुलाई गलत भन्नेहरुले एउटा कुरा याद राखिरहुन्– साझा पार्टीको लक्ष्य केही बर्षमा सरकारमा जाने, २–४ वटा मन्त्री खाने र कुर्सीकै सेरोफेरोमा रमाउनु हुने छैन, पुराना र जनताद्वारा नरुचाईएका पार्टी र त्यसका दलाल राजनीति गर्ने नेता कार्यकर्ता जस्तो गलत कार्यशैलीको अन्ध समर्थन गर्ने होईन, बरु राम्रो गर्नेलाई रचनात्मक सहयोग र नराम्रो गर्नेको सशक्त बिरोध वा हस्तक्षेप गर्ने हो । अर्थात हाम्रोलाई हैन राम्रोलाई अगाडि ल्याउने र भ्रष्टहरुको जग हल्लाउने हो भनेर भनिरहेको सन्दर्भमा अनावश्यक शंका किन गरिरहने ? समय अवश्य लाग्ला तर राम्रो पद्दतिको ज्वारभाटा ल्याउन खोज्ने जो कोहीलाई सहयोग गर्नु सचेत नागरिकको कर्तव्य हो कि होईन ?

अन्त्यमा,

मेरो गुनासो त्यस्ता विवादास्पद अभिव्यक्ति दिने कथित प्राज्ञसंग अन्तर्वार्ता लिदा कसैमाथि लगाएको गम्भीर आरोपको या त प्रमाण माग्नु, बिरोध गर्नु या त त्यस्ता अभिव्यक्ति प्रसारण नै नगर्नु पत्रकारिताको धर्मभित्र पर्छ पर्दैन ? यदि पर्छ भने आगामी दिनमा बोल्ने र बोल्न लगाउने दुबैले ख्याल राख्नु जरुरी छ । त्यसै गरी निराधार र बेतुकका कुरा सामाजिक संजालमा शेयर गरेर भाईरल बनाउनु भन्दा राम्रो काम गर्नेलाई सके सहयोग नसके सद्भाव गर्ने कि ?

परिवर्तन हाम्रै कालमा हुनुपर्छ भनेर बैकल्पिक राजनीति शुरु गरेका सबै स्वतन्त्र र आचरण राम्रा भएका ब्यक्ति तथा दलहरु एकै ठाउँमा आई सांगठनिक या कार्यगत एकता गरून्, जसले गर्दा राजनीतिमा दलाली र दलालको राजनीति गर्नेहरुको झुटको जग जोड़ जोड़ले हल्लाउन सकियोस् र नयाँ समृद्द नेपाल बनाउन सकियोस् । साझा पार्टीले त्यो भूमिकाको नेतृत्व गरोस् । शुभकामना ।

यो पनि पढ्नुस्ः

राजनीतिक विश्लेषक केसीले रवीन्द्र मिश्रलाई ‘सीके राउत’को अर्को रुप भनेपछि…

प्रतिक्रिया
सम्बन्धित