मंगलबार, ७ कार्तिक २०७४
DainikNepal.com
मंगलबार, ७ कार्तिक २०७४

मेची–महाकाली अभियानको सन्देश

सूर्य थापा २०७३ चैत ६ गते ७:३३

नेकपा (एमाले)को मेची–महाकाली राष्ट्रिय अभियान झापाको काँकडभिट्टाबाट सुरु भएर कञ्चनपुरको महेन्द्रनगरमा समापन र सुर्खेतको वीरेन्द्रनगरमा घोषणा-सन्देश सभा गरी सम्पन्न भएको छ । यस अभियानले तराई–मधेसका २२ जिल्ला र सिंगो देशलाई केन्द्रित र जागृत गर्ने, तरंगित र प्रभावित गर्ने, पार्टीको दृष्टिकोण प्रवाह गर्ने र राष्ट्रिय एकताको पक्षमा आमजनधारणा बनाउने महत्वपूर्ण काम गरेको छ । मेचीको सीमावर्ती बजार काँकडभिट्टामा २१ माघमा सुखानीका सहिदहरूको स्मृति दिवस पारेर पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेपछि यो अभियान पश्चिम नेपालतर्फ अघि बढेको थियो ।

मेची–महाकाली अभियानले पूर्वी नेपालमा फरक खालको माहोल सिर्जना गर्यो‍ । त्यस प्रकारको माहोललाई सप्तरीको राजविराजमा आइपुग्दा ‘सेबोटेज’ गर्न खोजियो, बीचमै रोक्न खोजियो । अगाडि बढ्न नदिनका लागि सांघातिक र हिंस्रक हमलासम्मका प्रयास भए । राजविराज आइपुग्दा अभियानले एउटा उचाइ लिइसकेको थियो । गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र परिसरभित्र दसौँ हजार मधेसी समुदायबीच सम्पन्न जनसभा त्यसको एउटा दरिलो उदाहरण थियो ।

पार्टीका नेताहरूले मैथिली भाषामा सम्बोधन गरे । त्यसक्रममा पार्टीले समग्र तराई–मधेस क्षेत्रका निम्ति इतिहासदेखि आजसम्म गरेका कामबारे सविस्तार बताउने, छरिएका भ्रमबारे प्रस्ट पारेर त्यस्ता भ्रम हटाउने प्रयास भए । यद्यपि, त्यो जनसभाबारे सञ्चारमाध्यममा कमै चर्चा भयो । त्यसको स्थान मधेसी मोर्चाका कार्यकर्ता र सुरक्षाकर्मीबीचको सुनियोजित भिडन्तमा घाइते भएका र ज्यान गुमाएका पाँचजना व्यक्तिको दुःखद घटनाले लियो । मानवीय क्षतिको स्थितिमा त्यस ढंगको संवेदनशीलता स्वाभाविकै पनि थियो ।

यो अभियान सप्तरीकेन्द्रित, राजविराजलक्षित वा एक वा दुई दिनका लागि मात्रै थिएन । तैपनि, इनरुवादेखि नै हामीलाई कालो झन्डा देखाउने काम भयो । एकजना महिला पूर्वसभासद्ले त आफ्नो जुत्ताले अभियानको गाडीमा प्रहार गर्नेसम्मका काम गरिन् । त्यसक्रममा बाटोभरि सय हाराहारीको संख्यामा मधेसी मोर्चाका कार्यकर्ता कालो झन्डा देखाएर सडकमा उत्रिएका देखिन्थे । हाम्रो अभियानको सिंगो टिम ती कालो झन्डा हेर्दै अघि बढ्यो ।

राजविराजमा किन त्यस खालको आक्रमणको घटना भयो ? राजविराजमा पुग्दा किन अभियानलाई त्यसरी सेबोटेज गर्न खोजियो ? यो अत्यन्त महत्वपूर्ण तर अनुत्तरित प्रश्न रहेको छ । यदि यो अभियानको सिलसिला सिराहाको गोलबजार, सर्लाहीको हरिऔन, बारा–पर्साको जितपुर, रौतहटको चन्द्रनिगाहपुर र गरुडा बजार छिचोलेर महोत्तरीको बर्दिवास र धनुषाको जनकपुर पुग्ने कार्यक्रम नरोकिएको भए तराई–मधेसमा विद्यमान भ्रमको तुवाँलो हट्ने निश्चित थियो । यस अभियानले सिंगो तराई–मधेस क्षेत्रलाई राष्ट्रिय एकताको नयाँ सूत्र र भावधारमा जोड्ने काम गर्ने माहोल बन्नेवाला थियो । त्यहाँका जनसमुदायलाई रोजगारी, शिक्षा, स्वास्थ्य, आधुनिकता, विकास र समृद्धिको दिशामा अघि बढ्न र बढाउन यो अभियानले अझ प्रेरित गर्थ्यो नै ।

नयाँ संविधान जारी भएपछि सरकारमा हुँदा तर्जुमा गरेको नीति–कार्यक्रम र बजेटमार्फत अघि सारेका योजनाका सम्बन्धमा सविस्तार चर्चा गर्ने काम यस अभियानका क्रममा त्यहाँ अत्यन्त व्यवस्थित रूपमा हुन्थ्यो । तर, त्यसलाई रोक्ने प्रयास र हर्कत भयो । एमालेले जनताबीच पुगेर कुरा राख्यो भने आफूले छरेका भ्रमका कनिका हट्नेछन्, भ्रमका सबैखाले तुवाँलो फाट्नेछन् र तराई मधेसमा एमाले जनताबीच स्थापित हुनेछ भन्ने भय मधेसी मोर्चाका नेता–कार्यकर्तामा छायो । यस स्थितिलाई मध्यनजर गरेर नेपालको राष्ट्रिय हित, एकता, सार्वभौमसत्ता र समृद्धि नचाहने तत्वहरू एकजुट हुन पुगे । मुलुकभित्र र बाहिर सबैतिरका तत्वहरू एकगठ भए । उनीहरू सबैले मधेसी मोर्चालाई मोहरा बनाएर अघि बढे । राजविराज घटना त्यसैको परिणाम थियो ।

लेखक

त्यस घटनाअघि र पछि पनि एमाले अत्यन्त संयमित रह्यो । पार्टीका तर्फबाट कुनै प्रकारको प्रतिवाद भएन । अभियान टोली वा उपस्थित जनसमुदायका तर्फबाट एउटा ढुंगासम्म पनि प्रहार भएन । त्यहाँ जुन जम्काभेट या आमने–सामने र भिडन्त भयो, त्यो केवल सुरक्षाकर्मी र मधेसी मोर्चाका नाममा परिचालित मोहराबीच भयो । एमालेकोे त कालो झन्डा हेर्नेबाहेक कुनै व्यक्ति र मोर्चावालासँग आमने–सामने नै भएन । त्यो घटना वास्तवमै दुःखद थियो । त्यही दुःखद घटनाको स्थितिलाई मध्यनजर गरेरै हामीले तीन दिनसम्म तराई मधेसमा सञ्चालन गर्ने भनिएको अभियान स्थगित ग-यौँ । घटनाबाट उत्पन्न संवेदनशीलतालाई एमालेले गम्भीरतापूर्वक लिएको त्यस निर्णयले देखाउँछ ।

२७ फागनुमा हेटौँडाको भुटनदेवी विद्यालय, जहाँ नेपाल राष्ट्रिय शिक्षक संगठनको स्थापना भएको थियो, त्यहाँबाट हामीले अभियान पुनः सञ्चालन गर्यौँ‍ र अभियान पश्चिम नेपालतर्फ लाग्यो । त्यसपछि अभियान मनहरी, लोथर, भण्डारा, नारायणगढ हुँदै चितवनमा अत्यन्त उत्साहसाथ सम्पन्न भयो । त्यहाँ एक घर : एक घडा स्वागतमा राखिएको थियो । एक घर : एक मोटर साइकल लिएर स्थानीय अभियानमा सामेल भए । गाडी हुनेहरू गाडी लिएर र्या‍लीमा सहभागी बन्न आए । समग्रमा भन्नुपर्दा जोसँग जे साधन छ, त्यही लिएर जनसमुदाय अभियानमा सहभागी भए । नारायणी किनारमा सबैभन्दा ठूलो जनसहभागितामा बृहत् जनसभा आयोजना भयो । चितवनका न्यायप्रेमी जनसमुदायले एमालेलाई न्यानो स्वागत गरे । यसरी अभियान निरन्तर अघि बढ्यो ।

प्रदेश नं. ४ को नवलपुरमा अर्को विशाल कार्यक्रम सम्पन्न भयो । त्यहाँ विभिन्न टोली बनाई घरघरमा पुगेर ४ नं. प्रदेश समन्वय कमिटीले मातहतका अगुवा नेता कार्यकर्तालाई व्यवस्थित रूपमा परिचालन गरेको थियो । नवलपुरको कार्यक्रममा जिल्लाका तीनवटा निर्वाचन क्षेत्रका सबै अगुवा कार्यकर्ता, समर्थक र शुभेच्छुक सहभागी भएका थिए । त्यसले निर्वाचनको पक्षमा अत्यन्त भव्य र सानदार योगदान गरेको छ । तत्पश्चात् बर्दघाटबाट थालनी गरेर प्रदेश नं. ५ मा परासीको भुमईमा जनसभा सम्पन्न गरी परासी बजार हुँदै भैरहवा जाने टोलीलाई रोक्न मधेसी मोर्चाका कार्यकर्ताले फेरि कालो झन्डा प्रदर्शन र अवरोध गरे । एमाले उनीहरूसँग लाप्पा खेल्न, अनावश्यक झगडा गर्न, हिंसात्मक वारदात गराउन र उनीहरूसँग युद्ध गर्न त्यहाँ पुगेको थिएन ।

तसर्थ, भुमहीबाट देवदह, बुटवल चौराहा हुँदै अभियान भैरहवातर्फ लाग्यो । किनभने, एमालेको लक्ष्य भैरहवा थियो । भैरहवाको अञ्चलपुरमा राजविराजपछि मधेसी बाहुल्य क्षेत्रमा अभियानकै सबभन्दा ठूलो र भव्य जनसभा आयोजना भयो, जहाँ मधेसी जनसमुदायको व्यापक सहभागिता थियो । पार्टी अध्यक्ष केपी शर्मा ओलीले काँकडभिट्टा, विराटचोक, इटहरी, राजविराज, हेटौँडा, नारायणगढ, नवलपुर र भैरहवाका जनसभालाई आफैँले सम्बोधन गरेर जनजागरणलाई नेतृत्व प्रदान गरे । पार्टीका वरिष्ठ नेता खनाल र माधवकुमार नेपाल, वरिष्ठ उपाध्यक्ष वामदेव गौतम र महासचिव ईश्वर पोखरेलसहित पार्टीको मूल नेतृत्व नै अभियानमा सहभागी बनेको थियो । यसले मधेसी मोर्चा र अरू विभिन्न पक्षले सिर्जना गरेका तमाम खाले भ्रम तोड्न महत्वपूर्ण सफलता मिलेको छ ।

भैरहवापछि पण्डित नारायणप्रसाद पोखरेलको हत्या भएको रुपन्देहीको रामापुरमा जनसभा भयो । त्यसपछि कपिलवस्तुको ४ नं. जितपुरमा अर्घाखाँची र कपिलवस्तुको संयुक्त जनसभा भयो । अनि चन्द्रौटामा पदयात्रा गर्दै अभियान दाङको लमहीमा रोल्पा, रुकुम र प्युठानका जनता सम्मिलित संयुक्त जनसभामा सहभागी भयो । यो जनसभा यसअघि दाङमा गरिएका अरू जनसभाभन्दा अत्यन्त भव्य र सानदार बन्यो । सभामा व्यापक जनसहभागिता थियो । भोलिपल्ट बाँकेको नेपालगन्जमा त्यस्तै ठूलो जनसभा भयो । भैरहवापछि पार्टी अध्यक्ष ओलीले नेपालगन्जको सभालाई सम्बोधन गरे । तत्पश्चात् अभियान खजुरा भएर गुलरिया पुग्ने कार्यक्रम थियो । तर, त्यहाँ पनि मधेसी मोर्चाको नाममा विभिन्न समूह र नाबालकहरू सम्मिलित जत्थाले अवरोधको प्रयास गरेको जगजाहेर छ । उनीहरूले हिंसा र आतंक मच्चाउने प्रयास गरे । बसमा आगो लगाए । तैपनि, अभियानको लक्ष्य त गुलरिया थियो । त्यसो हुँदा अभियान टाली–कोहलपुर भएर बाँसगढी, मैनापोखर हुँदै गुलरिया पुग्यो ।

बर्दियाको गुलरिया र राजापुरपछि कैलालीको टीकापुर र लम्कीजस्ता ठाउँमा जुन जनसभा भए, सशस्त्र द्वन्द्वमा अति प्रभावित र नरसंहार मच्चाइएको टीकापुरको जनप्रदर्शन र जनसभा शान्तिपूर्ण जनपरिचालनको दृष्टान्त नै रह्यो । त्यसबाहेक थारू समुदायको जिम्मा आफैँले लिएको भनेर ठेकेदारी गर्ने व्यक्तिहरूले हिंसा भड्काएको ठाउँसमेत हो यो । त्यहाँ पनि हजारौँको सहभागितामा जनसभा भयो । टीकापुरमा विगतमा जुन नरसंहार मच्चाइएको थियो, त्यहाँ पुगेर भव्य आमसभा गरी यस अभियानले यस्ता नरसंहार गलत छन् भन्ने स्पष्ट सन्देश प्रवाहित गरेको छ ।

एमालेले जुन जिल्ला टेक्यो, त्यहाँ जिल्ला बन्द र अवरोध घोषणा गरिए पनि त्यसलाई छिचोल्दै ३ चैतमा धनगढी र महेन्द्रनगरका विशाल जनसभा सम्पन्न भए । महेन्द्रनगरमा पत्रकार सम्मेलन गरी १६ बुँदामा यस अभियानको समीक्षा र निष्कर्ष सार्वजनिक गरिएको छ । वास्तवमा यस अभियानले सबैलाई नजिकबाट छोएको छ । यसले पूर्व–पश्चिम र उत्तर–दक्षिणका सम्पूर्ण न्यायप्रेमी जनसमुदायलाई परस्परमा जोडेको छ । सुर्खेतमा ५ गते आयोजित जनसभाका साथ अभियान सम्पन्न भएको छ । प्रदेश नं. ६ को सुर्खेतमा आइपुग्दासम्म यस अभियानले मेची–महाकाली महायात्रा र महाजागरण अभियानको स्वरूप ग्रहण गरेर सम्पन्न भएको छ ।

समग्रमा यो अभियान देशभरिका ५० लाख जनसमुदायबीच पुग्न सफल भएको छ, जनसभामा लाखौँलाखको प्रत्यक्ष सहभागिता भएको छ, ५० हजारभन्दा बढी विभिन्न पार्टीका नेता–कार्यकर्ता एमालेमा समाहित भएका छन् । यसले संविधान कार्यान्वयन, निर्वाचन, सामाजिक सद्भाव र राष्ट्रिय एकताको पक्षमा सिंगो देशलाई तरंगित, जागृत र परिचालित गर्न महत्वपूर्ण सफलता हासिल गरेको छ । मूलतः घोषित स्थानीय तहको निर्वाचनको तम्तयारीका लागि यसले अतुलनीय योगदान गरेको छ । (थापा एमाले केन्द्रीय सदस्य हुन्)

– नयाँपत्रिका दैनिकबाट साभार

प्रतिक्रिया
सम्बन्धित