शनिबार, ३ कार्तिक २०७५
DainikNepal.com
शनिबार, ३ कार्तिक २०७५

कपिलवस्तुका पाँच युवतीको सीमाबाट उद्धार

दैनिक नेपाल २०७३ फागुन १४ गते ८:०४

फाइल तस्बिर

– सीताराम चौधरी

न्द्रौटा, १४ फागुन । वैदेशिक रोजगारीका लागि भारतको बाटो हुँदै तेस्रो मुलुक हिँडेका ५ युवतीलाई कपिलवस्तुको कृष्णनगर सीमाक्षेत्रबाट उद्धार गरिएको छ ।

के.आई. नेपाल र इलाका प्रहरी कार्यालय कृष्णनगरको संयुक्त टोलीले युवतीहरुलाई उद्धार गरेको हो । युवतीहरु रोजगारीका लागि भारतका बिभिन्न शहरदेखि दुबईसम्म जान लागेको बुझिएको छ । उद्धार गरिएका युवतीहरुमा प्यूठानका दुई जना, मोरङको एक, दाङको एक र कपिलवस्तुको १ जना रहेका छन् ।

मोटो धन कमाउने प्रलोभनमा परी भारततर्फ हिँडेका प्युठानका नाम परिवर्तन आशा र सीता, मोरङ्ग घर भएकी १६ वर्षे पुजा र दाङकी बीनालाई सोधपुछका क्रममा भारत प्रवेशमा रोक लगाएको केआई नेपालका जिल्ला संयोजक केशर विश्वकर्माले जानकारी दिए । दाङकी बीना फोनमा चिनजान भएको एक पुरुषसँग रोजगारीका लागि भारत जान लागेको बुझिएको छ । श्रीमानको अपहेलना सहन नसकी छोराछोरीको जीविकोपार्जनको जोहो जुटाउन भारत जान लागेको बताएकी केआई नेपालका संयोजक विश्वकर्माले बताए ।

यता कपिलवस्तु पत्थरदेइयाकी रुपा (नाम परिबर्तन) एजेण्ट बताउने एक अपरिचित पुरुषमार्फत भारतको बाटो हुँदै दुबई जान लागेको बयान दिएकी छन् । श्रीमानले सौता ल्याएको र घरको आर्थिक अवस्था कमजोर भएकाले बैदेशिक रोजगारीमा हिँडेको बताएकी थिइन् । विचौलियाले युवतीलाई ११ सय रियल तलब पाइने भनी प्रलोभन देखाएको उनले बयान दिएको केआई संयोजक विश्वकर्माले जनाए ।

रुपालाई सीमा कटाउने विचौलिया फरक समयमा सीमा पार भएकाले विचौलिया भाग्न सफल भएको विश्वकर्माले बताए । किशोरीलाई विचौलियाको मोबाइल नम्बर मात्र भएको तर नाम थाहा नभएको बताइएको छ । किशोरीलाई उद्धार गरे लगत्तै विचौलियाको मोबाइल समेत स्वीचअफ भएपछि पक्राउ गर्न कठिनाई परेको प्रहरी निरीक्षक सञ्जय रिजालले बताए ।

नेपाल प्रहरीको लिङ्कगेटको टोली र के.आई. नेपालले कडा रुपमा बेलुकासम्म खोजी कार्य तीब्र बनाएपनि विचौलिया फेला पर्न नसकेको लिङ्कगेट प्रमुख प्रहरी नायब निरीक्षक प्रेमसिंह खडकाले जानकारी दिए ।

उद्धार गरिएका युवतीहरुलाई केआई नेपालले आत्मनिर्भर बनाउन विभिन्न तालिमका लागि परिवारको सल्लाहले चितवन सेफ होममा पठाएको संयोजक विश्वकर्माले जानकारी दिए । पछिल्लो समय कृष्णनगरको बाटो आउने चेलीहरु कोही बाबुआमा गुमाएका त कोही श्रीमानले दोस्रो विवाह गरेकाको संख्या बढी भएको उनले बताए ।

प्रतिक्रिया
सम्बन्धित