शुक्रबार, ११ चैत २०७३
DainikNepal.com
शुक्रबार, ११ चैत २०७३

युवा संघ खरानी हुन सक्छ !

अशोक कुमार चन्द २०७३ फागुन ६ गते १८:५५

युवा संघ नेपालको बुटवलमा भएको आठौं महाधिवेशनपछि संगठनभित्र र बाहिर एक अर्कोलाई नङ्ग्याउने स्थिति छ । कुनै नियम पालना गर्ने स्थिति नै रहेन । हाम्रो दुरी कति हो, होइन भन्ने कुरा कोठाभित्रका छलफलले टुङ्ग्याउँन सकेनौं ।

युवा संघ नेपालको केन्द्रमा जसरी स–साना चाहना र स्वार्थले विवाद श्रृजना भयो त्यसले स्ववियु निर्वाचनमा अनेरास्ववियु, पत्रकार महासंघको निर्वाचनमा प्रेस चौतारी र स्थानीय तहको आगामी जेठमा हुने निर्वाचनमा नेकपा (एमाले) लाई कुनै प्रकारले प्रभावित र कमजोर बनाउने अवस्था देखिन्छ ।

अन्तरसंघर्ष संगठनको नियन्त्रण बाहिर गयो । कुन सहि र कुन गलत भन्ने बहसको सृजना छरपष्ट पारियो । अन्तरसंघर्षका क्रममा हिलो छ्यापाछ्याप पनि भए । त्यसमा हामी आफै सामेल भयौं । कसैले धेरै त कसैले कम छ्यापे । कसैले भित्र त, कसैले बाहिर ।

हिजोका आग्रह, पूर्वाग्रह मेटेर आजको ऐतिहासिक कर्तव्यप्रति एक भएर जान सक्छौं कि सक्दैनौं ? हामी त्यस्ता माक्सवादी हुन सक्छौं ? लड्दा लड्दै मिल्न सक्ने र मिल्दा मिल्दै लड्ने सक्ने हुन सक्छौं कि सक्दैनौं ?

हामी आफैलाई बदल्न सक्छौं कि सक्दैनौं ? हामीले अन्तरसंघर्षको बीचमा त कसले कसलाई बाँकी राख्यौं र ?

हाम्रा स–साना स्वार्थ र चाहनालाई मिच्न सक्छौं इतिहास र युवा आन्दोलनका निम्ती ? यहि प्रश्न खडा भएको छ अहिले ।

विचार केन्द्रीत बहस, एकता, संघर्ष रुपान्तरणमार्फत नयाँ आधारमा नयाँ एकताको ठाउँमा व्यक्तिगत र समुहगत स्वार्थ केन्द्रीत अस्वस्थ प्रतिस्पर्धाले बढी उत्तेजित भएर संगठन अस्तब्यस्त, लथालिङ्ग, दिशान्मुख भएको छ ।

संगठनभित्र अन्तरविरोध चर्किँदै जाँदा सकारात्मक पक्षमा मात्र नभई नकारात्मक पक्ष पनि पैदा हुन्छ । संगठनको नेतृत्वले कुशलतापूर्वक सकारात्मक पक्षको संरक्षण र विकास त गर्छ नै, राजनीतिक, बैचारिक र संगठनात्मक हस्तक्षेपद्धारा नकारात्मक पक्षलाई सकारात्मकतामा बदल्न लाग्नुपर्छ ।

जसरी समाजमा विविधता र बहुलता हुन्छ, त्यसैगरि पार्टी र जनसंगठनभित्र पनि विविधता र बहुलता हुन्छ । विगतमा हामीले गरेका उपलब्धी, गौरब र सफलताका अगाडि तपाई हाम्रा कमजोरी धेरै गौण महत्वका कुरा हुन सक्छन् । तर, बिगतमा हामीले गरेका अन्तरसंघर्ष, अन्तरविरोध र विवादका बिषयलाई समाधान गर्दै युवा संघ नेपालको नवौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक १६ महिनापछि २०७३ माघ २३–२५ सम्म काठमाडौंमा बसेको थियो ।

बैठकले नवौं राष्ट्रिय महाधिवेशन २०७३ बैशाख ९–१२ गते गर्ने निर्णय गरेको थियो । उमेर हद तोकिएको संगठनमा महाधिवेशन हुनुपर्ने समय भन्दा १६ महिनापछि तोकिएको अवस्थामा पनि युवा संघ नेपालका हजारौं नेता कार्यकर्ताहरु नेतृत्वमा आउनबाट बञ्चित भएको अवस्था छ । महाधिवेशन हुने कुराले अथाह उत्साह र उर्जाले भरिएका नेता कार्यकर्ताहरुमा यसले फेरि महाधिवेशनको पूर्व अवस्थामा आइपुग्दा एउटा एजेण्डाको बहस हलमा नभई बाहिर सडकमा भयो । बहसको सृजना छरपष्ट पारियो ।

सञ्चार माध्यम र सामाजिक सञ्जालमा युवा संघ नेपाल बिभाजित भयो र एकै मितिमा छुट्टाछुट्टै महाधिवेशन हुने भनेर समाचार प्रकाशित भयो । यो विषयले सामाजिक सञ्जालमा राम्रै स्थान ओगटेको देखियो ।

युवा संघ नेपालमा उत्पन्न नयाँ विवाद

(१) स्ववियु निर्वाचनको पूर्व अवस्थामा (२) पत्रकार महासंघको निर्बाचनको पूर्व सन्ध्यामा (३) निर्वाचन आयोगले सरकारलाई स्थानीय तहको निर्वाचन जेठ १ र २१ गते गर्ने प्रस्ताव गरेको र स्थानीय तहको निर्वाचनको पूर्व तयारीका बेला (४) पार्टी पोलिटब्युरो बैठकले मेची–महाकाली अभियान सञ्चालनको पूर्व अवस्थामा र (५) युवा संघ नेपालका नेता कार्यकर्ताहरु क.दुर्गा तिवारीको हत्या, सन्तोष बुढाथोकी, खेम देवकोटा, वकिल बम र दिवश राई लगायत माथी विरोधीहरुले ज्यान मार्ने उदेश्यले आक्रमण भइरहेको बेला विवाद उत्पन्न भएको छ ।

युवा संघ नेपालको केन्द्रमा जसरी स–साना चाहना र स्वार्थले विवाद श्रृजना भयो त्यसले स्ववियु निर्वाचनमा अनेरास्ववियु, पत्रकार महासंघको निर्वाचनमा प्रेस चौतारी र स्थानीय तहको आगामी जेठमा हुने निर्वाचनमा नेकपा (एमाले) लाई कुनै प्रकारले प्रभावित र कमजोर बनाउने अवस्था देखिन्छ ।

यस्तो संवेदनशील समयमा युवा संघ नेपालले पार्टी र जनसंगठनहरुलाई कमजोर बनाउने नभई समृद्ध, बलियो र पहिलो पार्टी बनाउन एकताबद्ध भएर उच्च मनोबलका साथ लाग्नुपर्छ । स्ववियु निर्वाचनमा अखिललाई जिताउन, पत्रकार महासंघको निर्वाचनमा प्रेस चौतारीका उम्मेदवारलाई विजयी गराउन लाग्नुपर्छ ।

पार्टीको मेची–महाकाली अभियानलाई मधेशमा ऐतिहासिक बनाउन लाखौं युवा परिचालित गर्नु पर्ने र स्थानीय तहको निर्वाचनमा व्यापक युवा परिचालन गरेर पार्टीलाई जिताउन रणनीतिक कार्ययोजना बनाएर जानु पर्ने बेला आन्तरिक विवादमा अलमलिएर हामी कता जाँदै छौं ? अब हुने स्थानीय, प्रदेश र संघीय संसदको चुनावमा युवा संघले पार्टीलाई एकताबद्ध बनाएर एक दर्जन कम्युनिष्ट पार्टीका साइनबोर्ड हटाएर पार्टी एकीकरण अभियानमा लाग्नुपर्छ । यदि युवा संघ नेपालले यो भूमिका निर्वाह गर्न सकेन भने संघको पार्टी नेतृत्वसंग बार्गेनिङ्ग पावर घट्ने छ ।

हाम्रा युवा संघका नेता कार्यकर्ताहरुलाई केन्द्रीय संसद, प्रदेश विधायक, मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्ष र राजकीय क्षेत्रमा पठाउन सक्ने अवस्था अत्यन्त कमजोर हुनेछ । त्यसैले युवा संघ नेपालको उत्पन्न विवादलाई यथाशिघ्र स्थायी कमिटीको बैठक बसेर समाधान गर्दै संघको नवौं राष्ट्रिय महाधिवेशन सम्पन्न गर्नुपर्ने छ ।

साथै स्ववियु निर्वाचन, पत्रकार महासंघको निर्वाचन, मेची–महाकाली अभियान र स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नु अपरिहार्य छ । आग्रह, पूर्वाग्रह मेटेर ऐतिहासिक कर्तव्यप्रति एकताबद्ध भएर जानु पर्दछ । हामीले हाम्रा देश भित्र र बाहिरका पार्टी र युवा संघ नेपालका नेता, कार्यकर्ता, मतदाता र शुभचिन्तकहरुमा मुस्कान सहितको हार्दिक एकता छिट्टै देखाउनु पर्नेछ । त्यसो हुन नसकेको खण्डमा कोही बाँकी रहने छैनन् र सबै खरानी हुने निश्चित छ ।

(चन्द युवा संघका केन्द्रीय सचिव हुन् ।)

प्रतिक्रिया
सम्बन्धित