आइतबार, ११ असार २०७४
DainikNepal.com
आइतबार, ११ असार २०७४

नागरिकलाई सरकारी अस्पतालसम्म ल्याउन सरकारले काम गरिरहेको छः स्वास्थ्यमन्त्री

अपरेसन थिएटरको उद्घाटन

दैनिक नेपाल २०७३ फागुन ६ गते १७:३१

भक्तपुर, ६ फागुन । स्वास्थ्य मन्त्री गगन थापाले भक्तपुरस्थित मानव अङ्ग प्रत्यारोपण केन्द्रमा अत्याधुनिक मोडुलर अपरेसन थिएटरको उद्घाटन गर्नुभएको छ ।

कार्यक्रममा उहाँले आम नागरिकलाई उपचारका लागि सरकारी अस्पतालमा आकर्षित गर्ने गरी सरकारले काम गरिरहेको बताउनुभएको छ ।

भक्तपुरस्थित मानव अङ्ग प्रत्यारोपण केन्द्रमा अत्याधुनिक मोडुलर अपरेसन थिएटरको उद्घाटन गर्दै मन्त्री थापाले सरकारी अस्पताललाई जनशक्ति र आधुनिक उपकरणले सुविधा सम्पन्न बनाउने तयारी भइरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो–“सरकारी अस्पताललाई सुदृढ र तिनको सेवा विस्तार गर्दै नागरिकलाई स्वेच्छाले उपचारका लागि सरकारी अस्पताल आउन आकर्षित गर्ने गरी मन्त्रालयले काम गरिहेको छ ।” स्वास्थ्य सेवा सर्वसुलभ बनाउन र यसमा सबैको पहुँच पु¥याउन मन्त्रालयले कुनै कसर बाँकी नराखी काम गरिरहेको बताउँदै उहाँले अहिलेको बजार मूल्यभन्दा सहुलियत दरमा अस्पतालमा छिटो औषधि पु¥याउन पहल भइरहेको बताउनुभयो ।

नेपालमै पहिलोपटक सफल रुपमा कलेजो प्रत्यारोपण गरेर नेपालले स्वास्थ्य क्षेत्रमा केन्द्रले ठूलो उपलब्धि हासिल गरेको बताउँदै उहाँले सरकार जुनसुकै सहयोग गर्न तयार रहेको बताउनुभयो ।

कानुनले अब मष्तिस्क मृत्यु भएका व्यक्तिबाट सातवटा अङ्गदान दिन तथा लिन मिल्ने व्यवस्था भइसकेको चर्चा गर्दै मन्त्री थापाले त्यसका लागि आमनागरिकमा जनचेतना जगाउन आवश्यक भएको औँल्याउनुभयो ।

केन्द्रलाई स्थान अभाव भएको सन्दर्भमा नेपाल ट्रस्टको जमिन केन्द्रलाई उपलब्ध गराउनका लागि मन्त्रालयले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको मन्त्री थापाले बताउनुभयो ।

केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठले प्रत्यारोपणलाई आवश्यक पर्ने अत्याधुनिक साधनहरु समेटिएको दुईवटा अत्याधुनिक मोडुलर अपरेसन थिएटरको स्थापनाले केन्द्र प्राविधिक रुपमा आत्मनिर्भर भएको बताउनुभयो ।

नेपालमै पहिलोपटक उच्चस्तरको मोडुलर ओटीको स्थापना भएको बताउँदै डा श्रेष्ठले यसबाट केन्द्रलाई कलेजो प्रत्यारोपण र जटिल शल्यक्रियालाई अझै सहज बनाउन र निरन्तरता दिन हौसला मिलेको बताउनुभयो ।

कार्यक्रममा प्रजिअ द्रोण पोखरेल र केन्द्रका डा मोहनदेव भण्डारीले केन्द्रले अङ्ग प्रत्यारोपणसँगै अरु सेवा पनि विस्तार गर्दै लगेको बताउनुभयो ।

कार्यक्रममा भरतपुर तथा भक्तपुर क्यान्सर अस्पतालका निर्देशक डा प्रकाशराज न्यौपाने, नेपाली काँग्रेस भक्तपुरका सभापति दुर्लभ थापा, भक्तपुर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर खड्कालगायतले अस्पतालको सहभागिता रहेको थियो । रासस

प्रतिक्रिया
सम्बन्धित