बिहीबार, १७ चैत २०७३
DainikNepal.com
बिहीबार, १७ चैत २०७३

योजना कार्यान्वयनलाई प्राथमिकता : उपाध्यक्ष डा श्रेष्ठ

दैनिक नेपाल २०७३ फागुन ६ गते ८:५८

म्याग्दी, ६ फागुन । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले देशको विकास निर्माण र जनताको समृद्धिका लागि बजेट विनियोजनसँगै योजना कार्यान्वयनतर्फ पनि प्राथमिकता दिनुपर्ने बताउनुभएको छ ।

राष्ट्रिय योजना आयोगमा नियुक्त भएपछि पहिलोपटक आफ्नो जन्मथलो म्याग्दीको सिङ्गा तातोपानीमा आउनुभएका उपाध्यक्ष डा श्रेष्ठले बिहीबार स्थानीयवासीले आयोजना गरेको स्वागत कार्यक्रममा सो कुरा बताउनुभएको हो ।

उपाध्यक्ष डा श्रेष्ठले योजना कार्यान्वयनका लागि योजना सञ्चालन भएका क्षेत्रका बासिन्दा, सरकारी निकाय, निर्माण व्यवसायी, स्थानीय राजनीतिक दल र सरोकारवाला सबैले ध्यान दिनुपर्ने बताउनुभयो । देशमा विकास निर्माणको कामलाई दु्रतगतिमा अघि बढाउन र नयाँ विधिबाट योजनालाई प्राथमिकीकरण र कार्यान्वयन गर्न आफू लागिपरेको पनि जानकारी दिनुभयो ।

म्याग्दीको दरबाङ, ताकम, मुना हुँदै ढोरपाटनबाट मध्यपहाडी लोकमार्गमा जोडिने सडक, बेनी हुँदै मुस्ताङको कोरला नाकासम्म जोडिने कालीगण्डकी करिडोर अन्तर्गतको बेनी–जोमजोम–लोमान्थाङ सडक आफूले प्राथमिकतामा राखेको पनि उपाध्यक्ष डा श्रेष्ठले बताउनुभयो ।

त्यसैगरी, म्याग्दीमा सुस्तगतिमा रहेका राहुघाट जलविद्युत् आयोजनालगायत योजनाको प्रभावकारी कार्यान्वयन गर्नेतर्फ पनि आफ्नो ध्यान केन्द्रित भएको उहाँको भनाइ थियो ।

बेनी–दरवाङ सडकसहित ग्रामीण क्षेत्रका सडकमा धमाधम बजेट विनियोजन हुन थालेपछि उत्साहित भएका म्याग्दीवासीलाई अझै विकासको अनुभूति दिलाउने योजनालाई प्राथमिकताका साथ अगाडि बढाउन स्थानीयवासीले उपाध्यक्ष डा श्रेष्ठलाई अनुरोध गरेका थिए । रासस

प्रतिक्रिया
सम्बन्धित