शुक्रबार, ९ असार २०७४
DainikNepal.com
शुक्रबार, ९ असार २०७४

कमल थापा अन्ततः आफ्नो अडानबाट ‘ब्याक’ भए !

दैनिक नेपाल २०७३ फागुन ६ गते ७:२८

काठमाडौं, ६ फागुन । एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रथम एकता महाधिवेशनको पूर्वसन्ध्यामा आफ्नो अडानबाट पछि हट्दै संघीयता स्वीकार गर्ने संकेत दिएको छ ।

‘संघीयता वर्तमान राजनीतिक यथार्थ बनिसकेकाले कम क्षति हुने यसको कार्यान्वयन गर्ने तथा हिन्दु राष्ट्र र राजतन्त्रबारे समुचित निर्णय लिने सहमतिसाथ पार्टीको चारदिने एकता महाधिवेशन शुक्रबार राजधानीको भृकुटीमण्डपमा सुरु हुँदै छ । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

राप्रपा अध्यक्षमा वर्तमान अध्यक्ष कमल थापा निर्विरोध निर्वाचित भइसकेका छन् । पटकपटकको एकता र विभाजनबाट गुज्रिएको राप्रपाको भावी नेतृत्व महाधिवेशन सुरु हुनुभन्दा दुई दिनअघि सर्वसम्मत भएको हो ।

थापालाई अध्यक्ष पदमा निर्विरोध गराउन बुधबार अध्यक्ष पदका प्रत्याशी मानिएका पशुपतिशम्शेर राणा तथा डा.प्रकाशचन्द्र लोहनीले संयुक्त हस्ताक्षर गरी समर्थनको प्रतिबद्धता जनाएका थिए ।

पार्टी नेता लोकेन्द्रबहादुर चन्दले पनि सोही सहमतिमा हस्ताक्षर गरी थापालाई समर्थन गरेका थिए । महाधिवनेश सुरु हुनुअघि नै अध्यक्ष पदमा निर्विरोध नेतृत्व चयन गरेको इतिहास अन्य दलका लागि पनि ऊर्जा हुने विश्वास थापाले व्यक्त गरे ।

महाधिवेशनको दुई दिनअघि अध्यक्ष पदमा निर्विरोध निर्वाचित थापाले संघीयता सिद्धान्ततः आवश्यक नभए पनि अहिले यो राष्ट्रिय यथार्थ बनिसकेको बताए ।

‘संघीयता तत्काल फर्काउन सक्ने स्थितिमा हामी छैनौं । राप्रपाको प्रयास संघीयता कार्यान्वयनमा राष्ट्रलाई कमभन्दा कम क्षति हुने गरी राष्ट्रिय एकता, अखण्डतामा आँच नपुर्‍याउनेतर्फ केन्द्रित हुनेछ । संघीयता कार्यान्वयन गर्दा हिमाल, पहाड र तराईको सम्बन्ध नटुटोस् । आर्थिक रूपमा सक्षम होउन् भन्ने हाम्रो प्रयास हुनेछु, अध्यक्ष थापाले अन्नपूर्णसँग भने ।

‘पार्टी एकताको मुख्य उद्देश्य र आधार भनेकै देशमा उत्पन्न संकटबाट राष्ट्र र जनतालई मुक्त गराउनु हो । यसबाहेक एकताका लागि कुनै दृश्य–अदृश्य कारण र आधार छैन । राजसंस्था पुनर्बहालीका लागि मात्र होइन’, थापाले भने ।

प्रतिक्रिया
सम्बन्धित