आइतबार, ४ भदौ २०७४
DainikNepal.com
आइतबार, ४ भदौ २०७४

हो, देश टुक्राउनुपर्छ भन्नेहरुलाई पृथ्वी नारायण दुष्मन नै हुन्, साझा फुलबारी देख्नेका लागि हिरो

सञ्जीव पौडेल २०७३ पुष २७ गते १३:०७

जीवावशेष अध्ययनले पहिलो मानवपुर्खा ‘रामापिथेकस्’को दाँतको झन्डै १ करोड १० लाख वर्ष पुरानो अवशेष दाङ भ्यालीमा भेटिनु र आधुनिक मानव प्रजाती ‘होमो स्यापियन्स’को पनि ३०–४० हजार वर्षको इतिहासमा यस हिमवत भूखण्ड र काठमाडौँ उपत्यकामा नै झन्डै ११००० वर्षको प्रमाणित इतिहास रहेको पुष्टि गर्नुले नै वर्तमान नेपाल मानवका आदिम सभ्यताहरुको विकाससँग बढो नजिकबाटै जोडिएको तथ्य उजागर हुन्छ। इसापूर्व दोश्रो सहश्राब्दीमा लेखिएका विश्वकै प्राचीन ग्रन्थ वेदमा ‘नेपाल’ शब्दको प्रयोग यहि वर्तमान नेपालकै अवस्थितिको भूक्षेत्रलाई जनाउन प्रयोग गरिएबाट नेपाल राष्ट्रको अस्तित्वको प्राचीनता थप पुष्टि हुन्छ । यद्यपि यसको भौगोलिक क्षेत्रफल र सामाजिक र साँस्कृतिक संरचनाको आयतनमा समयक्रममा विबिध उतारचढाव आएको होस् । वर्तमान आधुनिक विश्वका झण्डै २०० राष्ट्रहरु मध्य नेपाल प्राचीनतम दश राष्ट्रभित्र पर्दछ, जो कहिल्यै प्रत्यक्ष उपनिवेशको शिकार बनेन र आफ्नो अत्यन्तै जटिल सामरिक भूअवस्थितिकाबीच पनि जहिल्यै साम्राज्यवादहरुसँग मुकाविला गर्दै आफ्नो स्वतन्त्र अस्तित्व जीवन्त राख्न आजपर्यन्त सक्षम रहँदै आएको छ।

एकीकरणको ऐतिहासिक आवश्यकता:

विशेषतः औद्योगिक क्रान्तिपश्चात युरोपेली राष्ट्रहरु आर्थिक साम्राज्य बिस्तार गर्ने आक्रामक होडबाजीमा लागे। जसले गर्दा तात्कालिक विश्व राजनीति उपनिवेशवाद र साँस्कृतिक साम्राज्यवाद बिस्तारको तीव्रत्तर क्रमबाट गुज्रिरहेको थियो। जसको प्रभावद्वारा अतिक्रमित क्षेत्रहरुमा थुप्रै प्राचिनतम राष्ट्रहरु तिनका स्थानीय संस्कृति, जाति, भाषा र सभ्यताहरु समेत त्यही साम्राज्यवादको भेलमा नामेट भएर बगे। यसै सन्दर्भमा मध्य र दक्षिण एसियाका अत्यन्तै विशाल बजारका रूपमा रहेका चीन र भारततर्फ साम्राज्य विस्तार गर्ने क्रममा नेपालको सामरिक र रणनैतिक अवस्थितिले यस भूमिको नियन्त्रणमाथि साम्राज्यवादी शक्ति केन्द्रहरुको तिब्र लालचा पैदा गर्यो। नेपालको भूमि आदिमकालदेखि नै विशिष्ट विविधताले सम्पन्न रहेपनि यो ससाना भुरे टाकुरे राज्यहरुमा विभक्त थियो, जो आपसमा बिभाजित र शक्ति संघर्षका बहुपक्षीय द्वन्द्वले अस्थिर र अशान्त बनेको थियो। उक्त परिप्रेक्ष्यमा त्यस्ता अस्थिरताजनक परिस्थितिलाई यौटा दीगो स्थिरता प्रदान गर्दै यो प्राचीन भुमिको विविधता र पहिचानको अस्तित्व रक्षा गर्न यौटा सुदृढ, एकात्मक र एकिकृत राष्ट्र निर्माणको आवश्यकता टड्कारो बनेको थियो। त्यसलाई एकत्रित नगर्दासम्म सिंगो भूमिको रक्षा, सवलीकरण र संवृद्धि समुन्नति वा आधुनिकीकरण सम्भव थिएन। तत् परिस्थितिमा राष्ट्रिय एकीकरण अभियान अपरिहार्य कदम थियो। त्यो चाहे मुकुन्द सेनबाट भएको होस् वा जयप्रकाश मल्ल ,जो सुकैबाट भएपनि त्यो अभियान तात्कालिक समयको माग थियो। अन्ततः पश्चिम नेपालको यौटा उदयमान राज्य गोरखाका राजा पृथ्वीनारायणले त्यसलाई सफल पारे। उनको सुझबुझ, बुद्धिमता, चतुर कुटनैतिक खुबी , दुरदर्शिता र अदभूत राष्ट्रनायकत्वले निर्देशित गरेको त्यो एकताको महान अभियानले विभक्तताबीच अस्तित्वको महासंकटको भूमरीमा पुग्नै लागेका राज्यहरूलाई एकताको मालामा उनेर छोटो समयमै नेपाल राष्ट्रको आधारशीला तयार गर्यो। यसर्थ, एकीकरणमार्फत आधुनिक नेपाल राष्ट्र निर्माणको अभियान केवल शासकीय महत्वाकांक्षा वा लहडको उपज किम्मार्थ थिएन, यो त युगीन आवश्यकताको परिणाम थियो ।

इतिहास हेर्ने दृष्टिः

मानव चेतनाको विकाससँगै सोही अनुकुल समाज र परिस्थितिप्रतिको बुझाइमा सापेक्षित बदलाब आउन सक्छ। तर इतिहासलाई हेर्ने, विश्लेषण गर्ने र परिभाषित गर्ने हाम्रो दृष्टिकोण तात्कालिक समय र व्यवस्थाकै कसिमा हुनुपर्छ । झण्डै चार सय वर्ष अघिको विश्वव्यवस्था, समाज संरचना, मानव विकास र चेतनाको स्तरलाई आजको समुन्नत, समावेशी लोकतान्त्रिक राज्यव्यवस्थाका मान्यताहरुसँगको निरपेक्ष तुलनाबाट इतिहासको सही मुल्यांकन हुन सक्दैन, यस्ता प्रयत्नहरु जायज हुन सक्दैनन्। त्यस अवस्थामा राष्ट्रहरुको निर्माणका आधारहरु युद्ध नै थियो।आजका प्राय सबै राष्ट्रको जन्म युद्धमार्फत भौतिक शक्ति र हतियारद्वारा मानव रगत बगाएरै भएका छन् । जसलाई आजको समयले, आजको समाज र चेतनाले मानवाधिकार विरोधी वा गलत आपराधिक हर्कतको रूपमा प्रस्तुत गर्न सक्ला। तर आधुनिक विश्व व्यवस्थाले बिसौं सताब्दीमा अघि सारेका मानवाधिकार, लोकतन्त्र र देशहरुको सार्वभौमिकताका मान्यता र अवधारणाको जन्म र विकास नै नभएको त्यो समय र कालखण्डका ती घटना परिघटनाहरुको यथार्थपरक मुल्यांकन आजको एक्काइसौं शताब्दीका मान्यताहरुको चश्माबाट कदापि गर्न सकिंदैन। आजको युगमा समेत विश्व भूगोलका विभिन्न क्षेत्रमा नैसर्गिक मानवाधिकार र सार्वभौमिकता माथिका हमलाहरुलाई विभिन्न बाहानामा झेल्दै र भोग्दै आउनुपरेको छ भने शताब्दी औँ अगाडि नेपाल निर्माणका प्रक्रियासंग जोडिएका घटनालाई आधार मानेर पृथ्वीनारायण र समग्र एकीकरण प्रक्रियामाथिको प्रहार कुनै पनि हालतमा स्विकार्य हुन सक्दैन ।

दिव्योपदेश र पृथ्वी पथ:

पृथ्वीनारायणले अबलम्बन गरेका नीति, पद्धतिहरु तात्कालिक समयको नेपाली चेतनाभन्दा निकै माथिल्लोस्तरका र दुरदर्शितापुर्ण रहेको तथ्यलाई उनका ‘दिव्योपदेश’हरुले पुष्टि गरेका छन्, जसका अधिकांश सन्देशहरु नेपालको सन्दर्भमा आजसम्म पनि उत्तिकै सान्दर्भिक रहे भने यिनै समृद्ध र स्वाधीन नेपालको भविष्यलाई निर्दिष्ट गर्ने असाधारण मार्गचित्र बन्न सक्छन् । उनले कल्पिएको सबै जाति संस्कृतिको साझा फुलबारी बनाउने संकल्प, सबै विविधताहरुको सम्मान र सबैले प्रस्फुटन हुने समान अवसर सिर्जना गर्ने साझा राष्ट्रियताको निर्माणका अभिप्राय, नेपालको भूअवस्थिति र छिमेकीबारे उनको सजगता, कुशल कुटनीतिक अभ्यास संचालन, न्यायपूर्ण राज्य , सदाचार र सुशासनप्रतिको प्रतिबद्धता, औद्योगिककरण, कृषि र बस्ती विकासका सम्बन्धमा उनका प्रखर विवेकशील नितिहरु इत्यादि आदिको अवलम्बन साँचो अर्थमा नेपाल र नेपालीको अस्तित्व र पहिचानको रक्षा तथा समुन्नतिको मुख्य आधार बन्न सक्थ्यो। तर उनी पछिका तेस्रो पुस्ता पुग्दा नपुग्दै उत्तराधिकारी वा सासकहरुमा यिनलाई आत्मसात गर्न सक्ने त्यो तहको खुबी देख्न सकिएन। दरबार केबल भारदार र आन्तरिक स्वार्थसमूहहरुको टकराब तथा घात प्रतिघातको क्रिडास्थल मात्रै बन्न पुग्यो, इतिहासको लामो कालखण्डसम्म। यसरी, पछिल्ला शासकीय कमजोरीहरुकै उपज नेपालमा अझै थुप्रै आसमानताहरु यद्यपि कायम रहे, भ्रष्टाचार, गरिबी, पराधिनता र विकासहीनताको चक्रव्युहमा रुमल्लिनु पर्यो। तर राजतन्त्रसँग या शाहवंशसँग मात्रै पृथ्वीनारायणलाई निरपेक्ष ढंगले जोडेर ती सबै उनी पछिका असफलताहरुको दोषको भारी पृथ्वीनारायणलाई बोकाउँदै समग्र नेपाल राष्ट्र निर्माण अभियानलाई नै गलत ढंगले परिभाषित गर्ने जस्तो निन्दनीय प्रवृत्ति किम्मार्थ न्यायसंगत मान्न सकिँदैन । किनभने ज्ञानेन्द्र शाह र पारस शाहको रिस पृथ्वीनारायण शाहलाई देखाउनु र उनीहरुसँगै तुलना गर्नु सुहाउँदैन ।

एकीकरण इतिहासमाथिका भ्रमः

एकीकरण अभियानको सफलता नेपाल भूमिको स्वाभिमानको विजयसँग गाँसिदा यसले मुलतः अंग्रेज साम्राज्यवादको अहममाथि लज्जास्पद प्रहार गर्यो। धर्मविस्तारमार्फत संसारलाई इसाईकरण गर्ने र यो पूर्वीय दर्शन र संस्कृति (बौद्ध, वैदिक र किराँत) को सम्पन्न आदिभूमिको पहिचान नामेट पार्ने उद्देश्यमा लागेको तगारोको प्रतिवादका रूपमा पश्चिमा इसाई पादरीहरुले इतिहास लेखनमा बहुत प्रोपोगन्डाहरु खडा गरेको पाइन्छ। त्यत्रो ठूलो युद्ध अभियानमा स्वभाविक रूपमा ठूलो धनजनको नोक्सान भएको छ तर एकाध घटनाहरुलाई अतिरन्जनाका साथ अतिशयोक्तिपुर्ण ढंगले चित्रण गरिएका छन्। स्मरणीय के छ,भने पृथ्वीनारायणका एकीकरण अभियानमा राज्यहरु निःसर्त एकीकरणलाई स्विकार्दै रक्तपातबिना नै नेपालमा समाहित भएका अवस्था पनि थुप्रै थिए। यस्ता घटनालाई उपेक्षा गरेर केबल नकारात्मक पाटोको मात्रै चर्चा सबै प्रतिशोध र बदलाको उपज सिर्जित अफवाह थिए भन्ने तथ्य सत्यको नजिक रहेको बुझ्न कठिन छैन ।

लेखकः सञ्जीव पौडेल

गोर्खा राज्यविस्तारकै रूपमा सुरु भएको देखिए तापनि कुनै एक जात, धर्म वा सम्प्रदायको मात्रै संलग्नता र सहभागिताले जटिल भूगोल र चरम विभक्तताको तात्कालिक परिवेशमा यो विशाल राष्ट्र निर्माण वा एकताको अभियानले मुर्तरुप पाउन सम्भव थिएन । वंसु गुरुङ, कालु पाण्डे, जयन्त रानामगर, विसे नगर्ची, सर्वजीत राना, जसवीर कामी जस्ता प्रतिनिधि पात्रहरुको चर्चाले उक्त अभियानमा धेरै समुदायको संलग्नतालाई पुष्ठि गर्दछ। यसर्थ उक्त अभियानले त्यो ऐतिहासिक आवश्यकताको महशुसिकरणसंगै सबै जातजाति र समुदायको साथ र सहभागिताले नै नेपाल राष्ट्रको जन्मलाई सम्भव तुल्याएको थियो। र, एकीकरणपछि पनि अधिकांश समुदायगत परम्परा, रितिरिवाज र संस्कृतिको निरन्तरता दिइएकै पाइन्छ उपत्यकाका जात्रा संस्कृति, कुमारीप्रथा लगायतलाई पृथ्वीनारायणले सहज स्वीकार गरेको प्रसंग उल्लेखनीय रुपमा लिनुपर्छ भने अन्य धेरै यस्ता धरोहर विभिन्न साँस्कृतिक समुदायको बाहुल्य क्षेत्रहरुमा निरन्तर जीवित रहन सके। जसले पनि लामो समयसम्म सामाजिक साँस्कृतिक सामञ्जस्यता र सद्भाव मजबुत राख्न सघाएको पाइन्छ।

निशानामा एकीकरणको इतिहासः

हिजो ३०० वर्ष अघि पृथ्वीनारायणले असफल पारिदिएका नेपाली स्वतन्त्रतामाथिका हमलाका प्रयत्नहरु निरन्तर आजसम्मै भिन्न नाम र माध्यमबाट कायम छन्। आज नेपाल अनेकौं बहुराष्ट्रिय स्वार्थहरुको निर्वाध र खुल्ला प्रयोगशाला बनिरहँदा इतिहासबाट नश्लीय र क्षेत्रीय संकिर्णताका संकुचित दायराहरु खोतल्ने प्रयत्न गरिँदै छ। अग्रगमनका एजेन्डाका नाममा नेपालमा बहुराष्ट्रियताका अवधारणाहरु लाद्ने प्रायोजित प्रयासहरु हुँदैछन् । गौरवपूर्ण इतिहासको निशेष गरेर तात्कालिक परिस्थितिजन्य आवस्यकताले सिर्जित एकीकरणको तथ्यलाई बंग्याउने भ्रामक प्रयत्नमा नेपाली भविष्यलाई इतिहासको उल्टो बाटोमा धकेल्न, जोडतोड्ले खोजिँदैछ। नेपाली परिवेशको मौलिकता र आवश्यकतालाई गम्भीर ढंगले अवमूल्यन गरिँदै छ। यसले अन्ततोगत्वा जसरी पनि नेपाली पहिचान र इतिहासको विरासत ढाल्न उद्दत कथित क्रान्तिकारी अग्रगमन स्वाभिमानी नेपालीको निम्ति भारी असह्य बन्दै छ।

आजका विशाल र समृद्ध राष्ट्रहरु निर्माण वा रक्षाका नायकहहरु चाहे फ्रान्सेली नेपोलियन हुन्, जर्मन विस्मार्क या त रसियन जार नै किन नहुन, आधुनिकता र व्यवस्थाको परिवर्तनपछि पनि त्यहाँ अत्यन्तै श्रद्धा र सम्मानका राष्ट्रिय धरोहरकै रूपमा छन्। तर विडम्बना हामी कहाँ इतिहासका धरोहर, संरचनालाई नष्ट गर्न अभियान छेडिए । शालिकहरु तोड्ने जस्ता असहिष्णु र घृणित प्रवृत्तिहरु देखिए। स्वाभिमानी राष्ट्र निर्माण तथा राष्ट्रिय एकताको गौरबवोधको प्रतीक पौष २७ को पृथ्वी जयन्तीलाई पुरै दुत्कारिएको छ। नेपालीहरु स्वयं राष्ट्र निर्माणको इतिहासको अपव्याख्या र अबमुल्यन गर्दै कृतघ्न बन्नु जस्तो दुर्भाग्यपूर्ण परिस्थिति देखियो। जसको मुल्यांकन निकट भविष्यमा हुने निश्चित छ। अग्रगमनको खोक्रो उन्मादी मत्थर हुने नै छ।

राष्ट्रिय एकताको बढ्दो सान्दर्भिकताः

जाति, भाषा, धर्म, संस्कृति जस्ता हरेक सामाजिक आयामहरुको विविधता र तिनको सद्भाव र सहिष्णुतापुर्ण अन्तर्संघुलन नै आधुनिक नेपाल राष्ट्र, नेपाली राष्ट्रियता र यसको साझा पहिचानको आधार हो। आजभन्दा तीन शताब्दी अघि नै पृथ्वीनारायणद्वारा महसुस गरि आत्मसात गर्ने प्रयत्न गरिएको यसै अवधारणाको अवलम्बन नै स्वाधीन, समृद्ध र आत्मनिर्भर नेपाल राष्ट्रको हाम्रा सपनाहरुलाई पूरा गर्ने एकमात्र विकल्प देखिन्छ। तर वर्तमानमा यहि आधारमाथी निर्मम प्रहार गरि राष्ट्रनिर्माणको जगलाई नै खल्बल्याउने हर्कतहरु बढिरँहदा राष्ट्रनिर्माता पृथ्वीनारायण र उनको नीति र एकीकरण अभियानको सार्थकता र औचित्य र सान्दर्भिकता झनै पुष्टि भएको छ।

प्रतिक्रिया
सम्बन्धित