बिहीबार, १२ साउन २०७४
DainikNepal.com
बिहीबार, १२ साउन २०७४

विपक्षी सांसद बोल्दा सत्तापक्षको जोडदार ताली! पृथ्वी जयन्तीमा सार्वजनिक विदा माग

दैनिक नेपाल २०७३ पुष २६ गते १४:४८

फाइल तस्वीर

काठमाडौं, २६ पुस । लामो समयदेखि अवरुद्ध व्यवस्थापिका संसदमा मंगलबार अनौठो दृश्य देखियो । जहाँ विपक्षी सांसद बोल्दा जोडदार तालीको वर्षा भयो ।

ताली विपक्षी मात्रै होइन सत्ता पक्षका सांसदले बजाए । ताली बजाउनुको विषयवस्तु थियो राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्म जयन्तीको अवसरमा सार्वजनिक बिदा दिनुपर्ने माग उठाउनु ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद प्रकाश ज्वालाले राष्ट्रिय एकता दिवस अर्थात पृथ्वी जयन्तीका दिन भोलि पुस २७ गते सार्वजनिक बिदा दिन सरकारसँग माग गरेपछि संसदमा तालीको वर्षा भएको हो ।

एमाले सांसद ज्वालाले राष्ट्र निर्मातालाई सम्झनु राज्यको कर्तव्य भएको भन्दै विदा दिएर सम्मान गर्नुपर्ने प्रस्ताव संसदमा अघि सार्दा सत्तापक्ष र प्रतिपक्षीका अधिकांश सांसदले समर्थन गरेर ढ्याप ढ्याप पारेका थिए ।

‘पृथ्वीनारायण शाहको नेतृत्वमा नेपाली जनताले आधुनिक नेपालको एकीकरण गरेका हुन्’ उनले भने– ‘पृथ्वी राजामात्रै थिएनन् उनी राज्य निर्माता हुन्, त्यसैले सरकारले पुस २७ मा सार्वजनिक बिदा दिनुपर्छ ।’

यसअघि सोमबार बसेको संसद बैठकमा राप्रपा सांसद कुन्ती कुमारी शाहीले विदा दिन सरकारसँग माग गरेकी थिइन् ।

२०६२–६३ सालको जनआन्दोलन अघि पृथ्वी जयन्तीको अवसरमा हरेक वर्ष पुस २७ गतेका दिन सरकारले सार्वजनिक बिदा दिने गरेको थियो । त्यसपछि सरकारले पृथ्वी जयन्तीको अवसरमा दिइँदै आएको बिदा कटौती गर्यो ।

तर, पछिल्लो समयमा फेरि पृथ्वी जयन्तीको अवसरमा सार्वजनिक बिदा दिन चौतर्फी दबाब बढ्दै गएको छ ।

हेर्नुस् भिडियोः

प्रतिक्रिया
सम्बन्धित