मंगलबार, ४ माघ २०७३
DainikNepal.com
मंगलबार, ४ माघ २०७३

एमालेलाई विदाई गर्न खोज्दा तराईमा आफै लखेटिए मधेसवादी दल (फोटो फिचर)

दैनिक नेपाल २०७३ पुष २५ गते १९:३२

सुनसरी, २५ पुस । सुनसरीको हरिनगरा गाविसमा आज (सोमबार) नेकपा एमालेको आमसभा सम्पन्न गरेको छ ।

मधेश केन्द्रीत दलहरुले अघिल्लो दिन आइतबार हरिनगरालाई बाजागाजा सहित एमालेमुक्त गाविस घोषणा गरेपनि ठिक पछिल्लो दिन सोमबार एमालेले आमसभा आयोजना गरेको हो ।

माधव नेपाल आमसभामा सहभागी हुन जाने सडकका ठाउँ ठाउँमा मधेसी मोर्चाका कार्यकर्ताहरुले टायर बालेर अवरोध प्रयास गरेका थिए । तर, एमाले कार्यकर्ताले उनीहरुलाई लखेटेको एमाले नेतृ मीना श्रेष्ठले बताइन् ।

एमालेको आमसभामा सहभागी मधेसी जनता ।

कार्यक्रम शुरु हुनुअघि विभिन्न गाविसबाट एमाले समर्थकहरुले जुलुस निकालेका थिए । उनले अघिल्लो दिन एमालेलाई बिदाइ गर्नेहरु भोलिपल्ट आफैं भागेको दाबी गरिन् । एमालेको यो जागरण अभियान सीमावर्ती गाउँहरुसम्म निरन्तर चल्ने एमाले सुनसरीका ५ नम्बर क्षेत्रीय अध्यक्ष अजय कुसियतले बताए ।

सुनसरीका ६ वटा निर्वाचन क्षेत्रमध्ये तीनवटा क्षेत्र एमालेले जितेको छ । कांग्रेस, फोरम लोकतान्त्रिक र संघीय समाजवादी फोरमले एक एक सीट जितेका छन् । एमालेले मंगलबार सप्तरीको राजविराजमा जागरण अभियान सञ्चालन गर्ने नेताहरुले जनाएका छन् ।

सभामा मैथिली भेषमा प्रस्तुत हुँदै एमाले नेता माधव नेपालले मैथिली भाषामै एमालेलाई मधेसबाट खेद्छौं भन्नेहरु आफैं खेदिने बताए । उनले एमालेलाई मधेसबाट कसैले खेद्ने सपना देखेको भए उसैलाई जनताले खेद्ने बताए । मधेसकेन्द्रित दल र सत्ता पक्षका कार्यकर्ताले सुनसरीको हरिनगराबाट एमालेमुक्त मधेस बनाउने भन्दै बाजा बजाएर ‘बिदाई कार्यक्रम’ गरिएकै ठाउँमा सोमवार एमालेले शक्ति प्रदर्शन गरेको हो ।

एमालेको मधेश जागरण अभियान सुनसरी सदरमुकाम इनरुवाबाट १६ किलोमिटर टाढा भारतीय सीमावर्ती हरिनगराबाट शुरु भएको एमाले जिल्ला अध्यक्ष द्वारिकालाल चौधरीले बताए । एमाले अध्यक्ष केपी शर्मा ओलीले पुस २२ मा काठमाडौंको शक्ति प्रदर्शन लगत्तै मधेश जागरण अभियान शुरु हुने घोषणा गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित