मंगलबार, ९ जेठ २०७४
DainikNepal.com
मंगलबार, ९ जेठ २०७४

लोकमानविरुद्ध लड्ने ‘साहसी’ वकिल भन्छन्ः हजारौँ लोकमानहरु बाँकी छन्, तिनीहरुसँग लड्नुपर्छ

दैनिक नेपाल २०७३ पुष २४ गते २३:००

आजको फैसलालाई तपाईंले कसरी लिनुभएको छ ? 

हामीले लोकमान सिंह कार्की अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख हुन अयोग्य छन् भनेर हामीले जे दाबी गर्दै आएका थियौँ, त्यो कुरा आज सर्वोच्च अदालतले नै प्रमाणित गरियो ।

नियुक्तिका सन्दर्भमा दलका नेताहरुबाट जुन गल्ती भएको थियो, त्यो गल्तीलाई अदालतले पनि स्थापित गरिदिएको छ । आजको फैसलाले नेताहरुको अदुरदर्शिताको पनि पुष्टि भयो ।

सर्वोच्चले के–के फैसला गरेको हो ?

सर्वोच्च अदालतले अख्तियार प्रमुख कार्कीको सन्दर्भमा दुईवटा फैसला गरेको छ । पहिलो त उनको नियुक्ति बदर गरिदिएको छ । त्यसको कारण चाँहि उनीमा उच्च नैतिक चरित्र छैन भन्ने हो । किनभने उनलाई रायमाझी आयोगले दोषी ठहर गरेको थियो । र, त्यस बमोजिम विभागिय कारबाही सुरु भइरहेको अबस्थामा उनले राजीनामा दिएको हो ।

दोस्रो, अख्तियार प्रमुख बन्नका लागि उनको २० बर्षको विषयगत योग्यता पुग्दैन भन्ने कुरा अख्तियार फैसला गरेको छ ।

तपाईंले बडो जोखिम मोलेर उनीविरुद्ध उजुरी दिने साहस जुटाउनुभएको थियो, यो फैसला पछि महसुस कस्तो गर्नुभएको छ ?

खुसी नै लागेको छ । नियुक्तिको बेला जनस्तरबाटै विरोध भएको थियो । जनताले विरोध गर्दागर्दै पनि नेताहरुले उनलाई त्यो पदमा थोपरेका हुन् । लोकमानले आतंक नै सिर्जना गरेका थिए । लोकतन्त्र नै खतरामा थियो । तर, यसलाई निर्र्मुल गर्ने काममा न्यायपालिकाले श्रेय लिने अवस्था रह्यो । किनभने दलहरुको भूमिका अहिले पनि चित्तबुझ्दो रहेन । महाअभियोग प्रस्ताव दर्ता भए पनि संसदबाट पनि उनीहरुले केही गर्न सकेनन् ।

यो फैसलाले आगामी दिनमा कस्तो प्रभाव पर्छ ?

‘लोकमान’ एउटा प्रवृत्ति हो । ‘लोकमान प्रवृत्ति’को नाइके लोकमान सिंह कार्की हुन् । यो समाजमा, राज्यका विभिन्न निकायमा हजारौँ लोकमानहरु अहिले पनि विद्यमान छन् । यसकारण एक कदम सकारात्मक त हो यो । र, बाँकी चुनौतीहरु पनि उत्तिकै कठिन छन् । यस्ता प्रवृत्तिविरुद्ध समाजमा विभिन्न तहमा थुप्रै अभियानहरु भएका छन् । गोविन्द केसी अभियान त अन्य केही अभियानका नाममा । साना साना अर्थात टुक्रे अभियानहरु अब एकसाथ जोडिनुपर्छ । र, एकैठाउँमा जोडिएर यस्ता प्रवृत्तिलाई पराजित गर्नुपर्छ ।

प्रस्तुतिः शारदा गैरे/दैनिक नेपाल

प्रतिक्रिया
सम्बन्धित