मंगलबार, ९ जेठ २०७४
DainikNepal.com
मंगलबार, ९ जेठ २०७४

‘पतञ्जलि’को गोरखधन्दामा कसले राख्ने नजर ?

अमृता लम्साल २०७३ पुष २४ गते १०:५०

मैले पटक पटक रामदेव अर्थात, ‘पतञ्जलि’को बारेमा सामाजिक सञ्जालमार्फत कुरा उठाउँदै आएकी छु । त्यसै सन्दर्भमा, मैले एकपटक यतिसम्म लेखेकी थिएँ, जसको आशय थियो, ‘जसरी भारतमा ब्रिटिश राज आउनु अगाडि ईष्ट इन्डिया कम्पनीले व्यापारको नाममा भारत पसेर भारतको आर्थिक अबस्थालाई जर्जर बनाएको थियो, त्यसैगरी, रामदेवको सामानले नेपाली बजारलाई बिस्थापित गरिसक्यो ।’ मैले जे लेखे पनि, आफ्नो घरमा दैनिक उपभोग गर्ने कतिपय सामानहरू म आफैं पनि पतञ्जलिकै चलाउँछु ।

कारण, ती सामानहरू नेपाली सामानभन्दा सस्ता छन् र ‘मिसावटयुक्त छन्’ भन्ने भ्रम ममा पनि छ । उदाहरणका लागि, मैले हरेक दिन उपभोग गर्ने मह, नेपाली उत्पादन, सबैभन्दा सस्तो पाएको, ५ सय ३५ रुपैयाँ किलो थियो भने, पतञ्जलिबाट बिक्री गरिने मह ४ सय २० रुपैयाँ किलोमा पाइन्छ । त्यसको मतलब, एक किलो महमा मैले पतञ्जलिको किन्यो भने, झन्डै १ सय १५ रुपैयाँ बचाउँछु भने, किन महंगो किनुँ ? त्यति मात्र होइन, नेपाली सामानहरूमा हुने मिलावटको अबस्था हेर्दा, नेपाली उत्पादन मह पनि अछुतो होला जस्तो लाग्दैन ।

तर, भर्खरै भारतको टाइम्स अफ इन्डियामा आएको समाचार अनुसार, पतञ्जलि आयुर्वेद औषधालयले अन्य कम्पनीको उत्पादनमा आफ्नो लेवल लगाएर विक्री गरेको भेटिएको छ । उनले खाद्य सुरक्षा तथा गुणस्तर ऐन २००६ को दफा ५२ र ५३ को भावना विपरीत अरुको उत्पादनमा आफ्नो लेवल लगाएको पुष्टि भएको भेटिएपछि पतञ्जलिलाई कारबाहीको फैसला गरिएको छ ।

हैदरावादको अतिरिक्त जिल्ला न्यायाधीश ललितनारायण मिश्रले पतञ्जलिलाई ११ लाखको जरिवाना तोक्दै भविष्यमा यस्ता प्रवृत्ति दोहोर्‍याए यस विषयमा कम्पनीमा थप अध्ययन गरेर दोषी भेटिए कारबाही गर्न निर्देशन पनि दिएको रहेछ ।

पतञ्जलिका उत्पादनहरू विरुद्ध मुद्दा परेपछि सन् २०१२ अगष्टमा पतञ्जलिको भनिएको उत्पादनमा अदालतले खाद्य सुरक्षा विभागलाई परीक्षण गर्न भनेको थियो । त्यतिबेला पनि पतञ्जलि दोषी भेटिएको थियो । तरपनि, हामी के भ्रमबाट मुक्त हुन सकेका छैनौ भने, पतञ्जलिका उत्पादनहरू अन्य कम्पनीहरूको उत्पादनको तुलनामा राम्रो र सस्तो हुन्छ ।

नेपालमा राष्ट्रवादको कुरा चर्को रुपमा उठिरहेकै हुन्छ, तर, ‘राष्ट्रवाद’ भनेको केवल ‘राजनैतिक वा पार्टीका कुरा गर्नु मात्रै होइन’ भनेर कतिले बुझेका छन् ? यसरी नेपालको घर घरायसी सामानमा एकछत्र राज जमाएर नेपाली अर्थव्यबस्थालाई जर्जर बनाउनु ‘अ–राष्ट्रवाद’ हो कि होइन ?

तर, यो कुरामा ध्यान दिनुको सट्टा पतञ्जलिको कार्यक्रम उद्घाटन गर्न २०७३ साल मंसिर १२ गते राष्ट्रप्रमुखनै सरकारी खर्चमा बीरगञ्ज पुगेको कुरा पनि कम विवादास्पद थिएन । खैर, अहिलेलाई त्यो मेरो लेखको विषय होइन ।

मेरो चासोको बिषय, पतञ्जलिले मिसावटयुक्त सामान बेचेर नेपालीको स्वास्थ्यमाथि पनि खेलवाड नगरोस् भन्ने मात्रै हो । यदि भारतमा त पतञ्जलिले मिसावटयुक्त सामान बेच्न सक्छ भने नेपालको बीरगञ्जमा उत्पादन गरेको सामानमाथि निगरानी कसले राख्ने ? उसो भन्न त नहुने हो, तर नधकाई र नडराई बन्नुपर्दा, उपरोक्त पतञ्जलि कम्पनीमा गुणस्तर जाँच्न जाने कर्मचारीहरूले,‘बरु मलाई यति रुपैयाँ दिनुस्, गुणस्तरहीन सामान बेच्न नडराउनस्’ भने भनेपनि आश्चर्य मान्नु पर्दैन । किन कि, यहाँका कार्यालयहरूमा त्यति धेरै भ्रष्टाचार व्याप्त छ ।

उसो त, पतञ्जलिका उत्पादनहरू उच्च गुणस्तरको कारणले भन्दा पनि दुई दशकभन्दा बढी समयमा रामदेवको योगसंग प्रभावित समुदायले गर्दा बढ्दै गएको हो भनेर बारम्वार चर्चा हुने गरेकै छ । गएको अगष्ट महिनामा ‘औरा’को साइटमा भारतकै चन्डीगढ निवासी मोहित बंशलको नामबाट एउटा लेख छापिएको थियो, त्यसमा उनले पतञ्जलिका उत्पादनहरू किन यति लोकप्रिय छन् ? भन्ने बारेमा एउटा विश्लेषण गरेका छन् । उनको बिचारमा ती उत्पादनहरूको त्यति धेरै सफल हुनुमा ५ विशेष कारणहरू छन्, जुन एक–अर्कासंग जोडिएका छन् । त्यसमध्ये पहिलो कारण, पतञ्जलिले सर्वसाधारणले हरेक दिन सजिलै उपभोग गर्ने र नयाँ स्वाद वा अरु कुराबारे परीक्षण गरिरहनु नपर्ने सामानहरू जस्तो, बिस्कुट, सिरियलहरू उत्पादन गरेको छ । अझ कतिपयको त नाम समेत अरु उपभोग भइरहेका सामानहरू जस्तै राखियो । जसले गर्दा उपभोक्ताहरूलाई उनीहरूको सामानमा बानी पार्न कुनै समय नै लागेन । दोश्रो, मार्केटिङ्ग स्टार्टेजी यसरी प्रयोग गरियो कि, बजारमा भइरहेको सामान जस्तै सामान उत्पादन गरेर, ‘हाम्रो उत्पादनमा, अरुको उत्पादनको जस्तो केमिकलहरू मिसिएको छैन र यो उत्पादनमा खर्च गरिएको पैसा भारतमै रहन्छ’ भनियो, यसले स्थानीय उपभोक्ताहरूको मनोविज्ञानलाई प्रभावित गर्‍यो र उनीहरू त्यस सामानप्रति आशक्त भए । त्यसरी उत्पादन गरिएका हरेक सामानहरूमा ‘पतञ्जलिको उत्पादन’ भनेर लेखियो । तेस्रोमा, जुनबेला पतञ्जलिले आफ्ना सामानहरूमा केमिकल नमिलाएको विज्ञापनका साथ बजारमा प्रवेश गर्‍यो, त्यतिबेला आम मानिसहरू आफ्ना उपभोगका सामानहरूमा केमिकल रहित सामानको खोजीमा थिए, त्यो भावनालाई पतञ्जलिले ‘क्यास’ गर्न सक्यो । चौथोको बारेमा त माथि उल्लेख गरिसकें, त्यो भनेको रामदेवप्रति वफादार समूहले यसलाई सर्वसाधारणमा पुर्‍याउन परोक्ष रुपमा मद्दत गरे ।

पाँचौंमा, आफ्ना उत्पादनको गुणस्तरप्रति पतञ्जलि सतर्क रह्यो, सकेसम्म गुणस्तर खस्कन दिएन । जब कि, अन्य ब्रान्डका सामानहहरूले आफ्नो गुणस्तरलाई त्यति ध्यान दिएनन् । त्यसको प्रतिफल, हामीजस्ता व्यक्तिहरू पनि पतञ्जलिको उत्पादनप्रति आकृष्ट भयौं ।

पतञ्जलिको उत्पादनहरूमा हुने भनिएको आयुर्वेदिक वस्तुहरूको मात्रा, जुन ती वस्तुहरूको प्याकिङ्गमा लेखिएको हुन्छ, त्यो त खासै त्यति ठूलो हुँदैहोइन । तर, पनि, पतञ्जलिले भारतीय मात्रै होइन, नेपाली बजार पिटिरहेछ । यो देख्दा दु:ख त लाग्छ तर, सस्तो र (आँखाले नदेखे पनि) शरीरलाई खराब गर्ने कुरा नमिसिएको भन्ने विश्वासले उपभोग नगर्न पनि सकिन्न । त्यसैले ‘राजनैतिक गफ’ गरेर या ‘पार्टीहरूलाई गाली गरेर’ मात्रै ‘खाँटी राष्ट्रवादी’ हुन खोज्नेहरूले नेपाली अर्थव्यबस्थालाई धराशायी हुनबाट रोक्न केही कदम चाले हुने !

प्रतिक्रिया
सम्बन्धित