मंगलबार, ७ कार्तिक २०७४
DainikNepal.com
मंगलबार, ७ कार्तिक २०७४

माओवादीकै नेता भन्छन्–५ नम्बर प्रदेश टुक्राउने प्रचण्डको प्रस्ताव फेल हुन्छ (अन्तर्वार्ता)

दैनिक नेपाल २०७३ मंसिर ३० गते २०:१८

 माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले पाँच नम्बर प्रदेश टुक्राउने गरी संसदमा प्रस्ताव दर्ता गरेका छन् । तर, माओवादी केन्द्रकै एक शीर्ष नेता भने सरकारलाई चुनौती दिँदै आन्दोलन र संघर्षमा छन् । यतिसम्म कि माओवादी केन्द्रका स्थायी समिति सदस्य टोपबहादुर रायमाझीको नेतृत्वमा बिहीबार अर्घाखाँची बन्दको आयोजना गरियो । यसै विषयमा केन्द्रीत रहेर दैनिक नेपालले नेता रायमाझीसँग गरेको टेलिफोन वार्ताः

– टोपबहादुर रायमाझी, स्थायी समिति, माओवादी केन्द्र

माओवादीको शीर्ष नेता भएर आफ्नै सरकारविरुद्ध आन्दोलन गर्नुभएछ ?

– संविधान संशोधन सरकारको एजेण्डा हो । पार्टीको होइन् । यद्यपी हाम्रो पार्टी सरकारमा छ । तर, जनता र राष्ट्रको विषय भएकोले म जनतासँगै संघर्षमा आएको छु । यसले पाँच नम्बर प्रदेशलाई मात्र होइन् राष्ट्रलाई नै असर गर्छ । ९० प्रतिशतले बनाएको संविधानमा १० प्रतिशतले जे जे भन्यो त्यही मान्दै जाने ? अहिलेको प्रस्तावले देशमा विभाजन गर्छ । विभाजनले राम्रो गर्दैन । थप द्वन्द्व सिर्जना हुन्छ । यो त मधेसको माग पनि होइन् । अर्काे कुरा कुनै संघीयताको मोडालिटी बनेको छैन् । जे मन लाग्यो त्यही गरेर हुँदैन् । विवाद नभएको ठाउँमा विवाद बढाएर कसरी समाधान हुन्छ ? यो प्रस्तावले जनतालाई आक्रोशित बनाएको पाएको छु । र, म फेरि पनि भन्छु यो पार्टीको एजेण्डा होइन् ।

यो त पार्टीलाई नै च्यालेञ्ज भएन् र ?

– पार्टीलाई च्यालेञ्जको कुरा होइन् । जनता र राष्ट्रको कुरा हो । प्रस्ताव सरकारको हो । माओवादी केन्द्रको होइन् । र, म एक जनप्रतिनिधि भएको नाताले यो स्वभाविक हो ।

सरकारले संशोधन फिर्ता लिएन भने के गर्नुहुन्छ ?

आन्दोलनमा छु र जनतासँगै रहिरहने छु । र, यो प्रस्ताव संसदमा पनि पास हुने सम्भावना देखिन्न् । फिर्ता लिनुनै अन्तिम विकल्प देख्छु । अंकगणितीय रुपमा र जनताको भावना हेर्दा खेरीपनि प्रस्ताव पास हुँदैन् ।

यही रुपमा अगाडि बढे तपाईलाई कि माओवादीले कारवाही गर्छ कि माओवादी छोड्नुहुन्छ भन्छन् नि ?

दुईटै कुरा हुँदैन् । पार्टी कसैको ठेक्का होइन् । पाँच नम्बर प्रदेश टुक्राउने प्रस्तावविरुद्ध पार्टीमा मैले मात्र बोलेको छु । मलाई धेरै बोल्नै दिएनन् । त्यसकारण यो पार्टीको औपचारिक निर्णय होइन् । मलाई कारवाही पनि हुँदैन् र मैले पार्टी छाड्ने कुरा कल्पनासम्म पनि गर्न सक्दैन् ।

तपार्ईंकै पार्टीका नेता वर्षमान पुनले पार्टीबाट औपचारिक निर्णय भएको भनिराख्नुभएको छ । यतिसम्म कि तपाईंलाई पार्टीको बैठकमा प्रश्न सोध्ने र चित्त बुझ्ने जवाफ नआए कारवाही हुनेसम्मको कुरा गरेका छ नि ?

बाहिर कसले के भन्यो मलाई थाहा छैन् । पार्टीले औपचारिक निर्णय गर्यो भन्नेलाई सोध्नुस् न टोपबहादुरले भएको छैन् भनिरहेको छ भनेर । बाहिर जे पनि भनिदिने !

त्यसो भए तपाईंको विचारमा समाधानको उपाय के हो ?

सरकारले संशोधन प्रस्ताव लिनुपर्छ । सबैको न्यूनतम सहमतिमा थप परिमार्जनसहित असन्तुष्टका माग सम्बोधन गर्नुपर्छ । र, जनभावनाको सम्मान गर्नुपर्छ ।

प्रस्तुतिः कमलराज भट्ट

प्रतिक्रिया
सम्बन्धित